जनकपुर जलमग्न [फोटोफिचर]

अजय शाह | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १०:१३:०० मा प्रकाशित

जनकपुर- लगातारको वर्षाका कारण जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको छ। 

पानीले बाह्रविघा, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। बस्तीहरू समेत डुबानमा परेर स्थानीय मर्कामा छन्।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ। वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन्।

यता धनुषा  र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानी सहत बढ्दै गएपछि अलर्ट जारी गरिएको छ । 

धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा अबिरल बर्षाका कारण जलस्तर बढदै गएकोले कमला छेउका आम सर्वसाधारणहरुमा अलर्ट जारी गरिएको बताएका छन्। उनले कमला छेउको रानीवास भन्ने ठाउँमा अलर्ट जारी गरिसकेको र सतर्क रहन सूचना दिसकेको जनाए। 

सिडिओ कनेलका अनुसार निरन्तर बर्षाका कारण जलस्तर बढदै गएकोले कमला छेउका ग्रामिण भेकमा सुरक्षाकर्मीहरुलाई समेत अलर्टमा राखिएको जानकारी दिए। सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली तैथान गरिएको जानकारी दिए।

समग्र धनुषा जिल्लाको सन्दर्भमा बोल्दै सिडिओ कनेलले जिल्लाको अवस्था समान्य रहेको तथा जनकपुरमा नालामा पानीको बहाब रोकिएकोले ठाउँ ठाउँमा पानी जमेको भन्दै कर्मचारी, प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिए। 

यता, सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल अधिकारीले अहिले कमला नदीमा पानीको बहाब खतरामा पुगिनसकेको जानकारी दिए। उनले भने, 'हामीले कमला छेउका आम सर्वसाधारणहरुमा अलर्ट जारी गरेका छौं, सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि अलर्ट रहन निर्देशन दिसकेका छौं। अहिले कमलामा पानीको सतह ४.५ मापन गरिएको छ। तर, जलस्तर बढने क्रम जारी छ।'

यसका साथै, गएराती १ बजेको पानी मापन अनुसार, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा भारी बर्षा मापन गरिएको हो। कमला नदी र बागमति नदी लगायत यसका शाखा नदीहरुमा पानीको बहाब बढदै गएकोले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।