काठमाडौं– ‘बाटो जता छ, गाडीहरू त्यतै कसरी गुड्छन्? के सडकको छेउबाट गाडीहरू खस्दैनन् होला?’
सानो छँदा यस्तै कौतूहल राख्थिन् धरान भानुचोककी हर्मिता श्रेष्ठ। उनको सपना थियो– ठूलो भएपछि गाडी गुडाउने। गाडी चलाउनै लागि ठूलो बन्नको हतारो थियो हर्मितालाई।
रहरै रहरमा उनले मारुती भ्यान चलाउन सिकिन्। जतिबेला उनी कक्षा ९ मा पढ्थिन्। भ्यान आफ्नै घरमा थियो।
‘३ महिना सिकेपछि राम्रोसँग चलाउन सकेँ,’ हर्मिताले सुनाइन्। २०५२ सालमा उनले एसएलसी दिइन्। काकाका छोरीहरू काठमाडौंमा बस्थे। दिदीहरूसँगै उनी पनि काठमाडौं आइन्। काठमाडौं सहरसँग घुलमिल हुँदै थिइन्। घुलमिल हुँदाहुँदै सिन्धुपाल्चोक राम्चेका एक युवकसँग उनको प्रेम बस्यो।
१८ वर्षको उमेरमै हर्मिताले विवाह गरिन्। विवाहको एकवर्षपछि छोरो जन्माइन्। हर्मिता र उनका श्रीमान् काठमाडौंमै बस्थे। सानै उमेरमा जिम्मेवारी उनको काँधमा बढेर आयो।
‘श्रीमान के गर्थे?’
यसबारे उनले केही बताउन चाहिनन्। छोरा सानै थियो। हर्मिताले काष्ठमाण्डपमा सिलाइ तालिम लिइन् र टेलर्समा काम गर्न थालिन्।
हर्मिता चौबन्दी, पेटीकोट, भोटो, चोली लगायत स–साना कपडा कटिङ गर्न सक्ने भएकी थिइन्। तर, उनलाई सिलाइको काम र त्यहाँको पारिश्रमिकले सन्तुष्टि दिएन।
‘काम एउटै हुँदा पनि पुरुषको तलब महिलाको भन्दा बढी हुन्थ्यो। कस्तो विभेद ?’ विगतमा पारिश्रमिक थाप्दा आफूले भोगेको विभेद सम्झन्छिन् उनी।
‘मलाई त पहिलेदेखि नै यो छोरीमान्छे र छोरामान्छे भनेर छुट्याएको मन नै पर्दैन’ हर्मिता गुनासो पोख्छिन्। उनले नयाँ काम गर्ने सोच गरिन्। उसो त सानैदेखिको सपना थियो– गाडी चलाउने। उनलाई रहरको काम गर्न मन लाग्यो।
उनले टेम्पो चलाउने सोच बनाइन्। २ दिनमा टेम्पो सिकिन्। सवारी अनुमति पत्रका लागि ट्रायल दिइन्। नाम निस्किएन। त्यसलगत्तै हर्मिता वीरगञ्ज गइन् र लाइसेन्स पास गरिन्।
विसं २०५७ सालतिर काठमाडौं आरएनएसी, बौद्ध, जोरपाटी लगायत स्थानमा केही समय टेम्पो चलाइन हर्मिताले।
टेम्पो चलाएर पनि गुजारा राम्रैसँग चलिरहेको थियो। त्यसै क्रममा हर्मितालाई राष्ट्रिय महिला आयोगकी अध्यक्ष दुर्गा पोख्रेलको गाडी चलाउने अवसर आयो। सफा टेम्पो छाडेर सरकारी गाडी चलाउन थालिन्।
‘सरकारी गाडी चलाउने पहिलो महिला म नै थिँए,’ कुरा सुनाउँदै गर्दा हर्मिताको अनुहारमा खुसी प्रष्टै देखिन्थ्यो। सुरुवातमा उनको मासिक तलब ३ हजार १ सय ३० रुपैयाँ थियो।
गुजारा राम्रै चलेको थियो।
पोखरेलको गाडी चलाउने क्रममा हर्मिताले एउटा सूचना पढिन्। युएनमा गाडी चालकको आवश्यकता रहेछ। सूचनामा महिला चालकलाई बढी प्राथमिकता दिइने उल्लेख गरिएको थियो।
उनलाई युएनको गाडी चलाउन मन लाग्यो। उनी अन्तरवार्तामा सहभागी भइन्। अन्तरवार्तामा पनि छनोट भइन्। युएनमा पहिलो महिला चालक भएर हर्मिताले गाडी चलाउन थालिन्।
सुरुमा तलब १४ हजार थियो। बिस्तारै बढ्दै गयो। तलब बाहेक अन्य सेवासुविधा समेत राम्रो थियो।
महिला चालक भएकै कारण धेरै ठाउँमा उनी सम्मानित पनि भइन्।
गाडी चलाउने ठाउँमा देशका थुप्रै ठाउँमा पुगिन् उनी। देशका धेरै ठाउँको परिवेशबारे थाहा पाइन्।
द्वन्द्वकालको समयमा निकै डरलाग्दो यात्रा गर्नुपथ्र्यो। गाडी गुडाउँदा गुडाउँदै बम पड्किने सन्त्रास भइरहन्थ्यो। ‘हिँड्दा हिँड्दै कहिले माओवादीको चेकिङमा परिन्थ्यो त कहिले प्रहरीको,’ उनले कहालीलाग्दा विगत सम्झिन पुगिन्।
यद्यपि, डरैडरको बीचमा पनि गाडी चलाउन छाडिनन्। गर्भवती अवस्थामा पनि गाडी चलाइनै रहिन् हर्मिताले। ‘छोरी जन्मिनु ७ दिन अघिसम्म निरन्तर गाडी चलाइरहेँ। त्यसपछि चाहिँ निकै गाह्रो भयो। अनि छुट्टि लिएँ,’ हर्मिताले सुनाइन्।
बच्चा जन्मिएपछि भने युएनले उनलाई ४ महिनाको सुत्केरी बिदा उपलब्ध गराएको थियो। छोरी चार महिनाको पुगेपछि हर्मिताले घरमा मान्छे राखिन्। ‘ अनि फेरि काममा फर्किएँ,’ उनले भनिन्।
युएनको गाडी चलाउँदाको अवष्मिरणीय अनुभव सँगालेकी छन् हर्मिताले।
‘चितवनको माडी भन्ने ठाउँमा महिला चालक भनेर मान्छेहरूले फूलमाला पहिराएका थिए,’ खुसीको क्षण सम्झेर मुस्कुराउँदै भनिन्, ‘बाजा बजाएर समेत स्वागत गरेका थिए।’
युएनमा गाडी चलाउने रहरै पुगेको थिएन। सन् २०१५ मा उनलाई युएनको गाडी चालकबाट रिसेप्सनमा सारियो। सन् २०१६ सम्म उनले रिसेप्सनमा काम गरिन्।
‘तलब भने ड्राइभरको जति नै थियो, एक वर्षको कन्ट्र्याक थियो, सकियो। अफिसले कन्ट्र्याक थपिदिएन, त्यसपछि काम गर्न मन लागेन,’ उनले भनिन्। १६ वर्ष युएनमा काम गरिन् हर्मिताले। निस्किने बेलामा सञ्चयकोषको रकम राम्रै जम्मा भएको थियो।
त्यही रकमले उनले टौदह पाण्डेछापमा जग्गा किनिन्। केही रकम ऋण लिएर एउटा घरसमेत बनाइन्। ‘गाडी चलाएर घर बनाएकी छु, केही ऋण तिर्नै बाँकी छ, त्यो पनि गाडी चलाएर तिर्छु,’ उत्साहका साथ हर्मिताले भनिन्।
‘त्यसपछिको बाटो कता थियो,’ मनमा कौतुहल थियो। उनले कौतुहल मेट्दै गइन्। युएनबाट निस्किएर अमेरिकन दूतावासको प्रोजेक्टमा हर्मिताले एक वर्ष गाडी हाँकिन्। प्रोजेक्ट सकियो, हर्मिताको काम पनि सकियो।
फेरि केही दिन बेरोजगार बसिन्। हातमा सिप हुनुपर्छ, अवसरहरु त वरिपरि भेटिँदा रहेछन्। वर्षौंसम्म नेपालको सडकमा गाडी हाकेँकी हर्मितालाई हिम्मत जुटिरहेको थियो।
उनले काठमाडौं (कोटेश्वर) देखि काँकडभित्ता चल्ने साकिरा हाइस चलाउने आँट गरिन्। केही दिन साकिरा हाइस चलाइन् पनि।
सडकमा साझा यातायातका नयाँ नयाँ गाडी देखिन्थे। यी देख्दा हर्मितालाई साझा यातायात चलाउने रहर जाग्न थाल्यो। साझाले चालकको माग गरेका बेला गत कात्तिक महिनामा उनले भरिन्। उनलाई साझाको गाडी चलाउन बोलाइयो।
साकिरा हाइस चलाउन छाडेर हर्मिता साझा यातायात हाँक्न थालिन्। साझा यातायात चलाउने दोस्रो महिला चालिका हर्मिता हुन्। गत आइतबारदेखि हर्मिता साझा यातायात चलाउन थालेकी छन्।
दैनिक १२ घण्टा मासिक २० दिन उनले काठमाडौंका सडकमा साझा यातायात हाँक्नुपर्छ। काठमाडौंका सडकमा साझा यातायात चलाउँदाको पहिलो दिन नै उनी कारबाहीमा परिन्।
‘रोक्न मिल्ने ठाँउमै रोक्दा पनि ट्राफिकले अनावश्यक रुपमा चिट काट्यो, लाइसन्स पनि लिया,’ पहिलो दिनमै आफू कारबाहीमा परेकाले उनले कार्यालयमा यो कुरा सुनाइनन्।
भोलिपल्ट कलङ्की स्वयम्भु रुटमा साझा यातायात चलाउँदा हर्मिता चेकिङमा परिन्। एक ट्राफिकले उनलाई लाइसेन्स मागे। उनको लाइसन्स अघिल्लो दिनमा नै ट्राफिक कार्यालय पुगिसकेकाले उनले लिन जान भ्याएकै थिइनन्।
डकुमेन्ट नभएपछि ट्राफिकले उनको गाडी रोके। गाडीका सबै यात्रुहरू नयाँ बानेश्वरमा झारिदिए।
‘म महिला ड्राइभर भएर हो कि, ट्राफिकले मेरो कुरा नसुनेर अनावश्यक दुःख दियो, साझाले बिलबुक हामीलाई दिएकै हुँदैन,’उनले गुनासो पोख्दै भनिन्, ‘सबै डकुमेन्ट कार्यालयमा नै राखिन्छ, साझा यातायात पनि कसैले चोरेर चलाउँछ र?’
गाडी हाँक्दाहाँक्दै उमेरले ४१ वर्ष पुगेकी हर्मिताको उत्साहमा भने कमी आएको छैन। १८ वर्ष हुँदाको अझैसम्म छ। छोरा र छोरीलाई आफ्नै खर्चले पढाइरहेकी छन्। श्रीमानबाट अलग छिन्। तर, श्रीमानबारे केही बोल्न चाहन्नन्।
हर्मिताका छोरा कक्षा १२ को पढाइ सकिसके। छोरी कक्षा २ मा पढ्दैछिन्। बिहान छोरीलाई स्कुल पुर्याउँछिन् र साँझ काम सकेर लिन आफैं लिन पुग्छिन्। आमाबुबा दुवैको जिम्मेवारी एक्लैले सम्हालेकी हर्मिताको जीवन शैली पनि उस्तै देखिन्छ।
जीवनका लामा आरोह अवरोह एकै बसाइमा भनिन् हर्मिताले। उनको सफलता उनकै अनुहारमा प्रष्ट झल्किन्थ्यो। उनको सफलता देख्दा सबैले भन्ने गर्छन्, ‘महिलाले पनि पुरुष सरह काम गर्न सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।