काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।
उनीहरुले बिहीबार नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक संक्रमणको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकामा आपत्ति प्रकट गरे।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै यही पुस १७ गतेदेखि इन्धनको मूल्य बढाएको थियो।
आयोगका निमित्त महाप्रबन्धक भट्टराईले अन्तर्राष्ट्रिय रुपमा नै मूल्यवृद्धि भएकाले निगमले बाध्य भएर मूल्य बढाउनुपरेको बताएका थिए। तर, युवा तथा विद्यार्थी संगठनले भने विगतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रुपमा ग्यासको सिलिन्डर बनाउने निर्णय भएको भन्दै सो सहमति कार्यान्वयन नभएकामा गुनासो गरेका थिए।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा त्यसले उपभोक्ताको चुलोमा समेत प्रभाव पार्ने, मूल्यवृद्धि हुने तथा अन्य दैनिक उपभोग्य वस्तुमा समेत नकारात्मक असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग गरेका थिए।
निमित्त महाप्रबन्धक भट्टराईले युवा विद्यार्थीको ध्यानकर्षणलाई गम्भीरतापूर्वक लिने विश्वास दिलाएका थिए।
युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुका अध्यक्ष नबिना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्र निमित्त महाप्रबन्धक भट्टराईलाई बुझाइएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।