काठमाडौँ- बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षाकोठा अभावका कारण पढाइमा समस्या भएको छ।
भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव भएको छ। भूकम्पपछि भत्किएका कक्षा कोठाको निर्माण हुन नसक्दा अहिले एउटै कोठामा चार कक्षा सञ्चालन भएको विद्याश्रमका संरक्षक मठाधीश स्वामी निगमानन्दले बताए।
कक्षा ४ देखि ७ सम्म एउटै कक्षा कोठामा समूह विभाजन गरी कक्षा नियमित सञ्चालन गरिएको उनले बताए। 'आश्रम पुनःनिर्माण गर्नका लागि हामीले पटक पटक आग्रह गरेका थियौँ,' उनले भने, 'तर अहिलेसम्म हाम्रो आग्रहलाई सरकारले चासो देखाएन।'
पुनःनिर्माणका लागि आश्रम व्यवस्थापन समितिले बूढानीलकण्ठ नगरपालिकामा प्रस्ताव गर्दा पनि बजेट निकासा नभएको उनले गुनासो गरे।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आवश्यक रकम उपलब्ध गराउन नसकिएको हुनाले आश्रमको निर्माणमा ढिलाइ भएको बताएका छन्।
२०५७ सालमा स्थापित उक्त विद्याश्रममा पूर्णरुपमा निःशुल्क पढाइ हुन्छ। हाल विद्यालयमा ३५ ब्राह्मण छात्र छन्। आठ शिक्षक एक शिक्षिका रहेको उक्त विद्यालयलाई शिक्षा मन्त्रालयले वार्षिक रु ४ लाख सहयोग दिँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।