त्रिशूली, नुवाकोट- अवैध रुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले समातेको घरेलु मदिरालाई विदुरमा नष्ट गरिएको छ।
सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीका बजारमा बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीबाट एक हजार १५० लिटर घरेलु मदिरा बरामद भएको र ती मदिरालाई नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको ४ सय लिटर पनि नष्ट गरिने प्रहरीले जनाएको छ।
सदरमुकाम क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पाइएपछि प्रहरीले मदिरा उत्पादन गर्ने ग्रामीण क्षेत्रमा कडाइ गर्दै मदिरा बरामद गर्न थालेको हो। अवैध र अस्वस्थरुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै प्रहरीले सदरमुकाममा रक्सी नियन्त्रण गर्ने अभियानअन्तर्गत निगरानी बढाएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।