काबुल- अफगानिस्तानमा जारी द्वन्द्वका कारण सन् २०१७ मा ४ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।
संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार २०१७ को जनवरी १ देखि ३१ डिसेम्बरसम्ममा ४ लाख ४५ हजार ३ सय ३५ नागरिक विस्थापित भएका छन्।
पूर्वी अफगानिस्तानबाट आन्तरिक रुपमा विस्थापित हुनेहरुमा करिब १ लाख ४० हजार २ सय ५ जना छन्। त्यसमा नान्गाहार प्रान्तका मात्र १ लाख २३ हजार ५ सय ३८ जना रहेका जनाइएको छ।
राष्ट्र संघका अनुसार, अफगानिस्तानमा सन् २००१ बाट जारी द्वन्द्वका क्रममा भएको कमजोर सुरक्षा अवस्थाका कारण १० लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। यी विस्थापितमध्ये के कति आन्तरिक रुपमा र कति बाह्य रुपमा विस्थापित भएका छन् भन्नेबारेमा केही बताइएको छैन। १० लाख विस्थापितमध्ये केही व्यक्ति शरणार्थीका रुपमा विदेशिएको उल्लेख गरिएको छ।
जारी द्वन्द्व सम्बन्धी हत्या-हिंसामा गत वर्षको सुरुका नौ महिनामा २ हजार ६ सय ४० व्यक्तिको मृत्यु भएको अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघीय मिसनले जनाएको छ। (रासस/सिन्हवा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।