एजेन्सी- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकालाई दिएको चेतावनीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमार्फत प्रतिक्रिया दिएका छन्।
उनले अमेरिकालाई प्रहार गर्ने परमाणु बमको बटन आफ्नो डेस्कमै जडान भएको तीन दिनअघि बताएका थिए।
ट्विटरमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूसँग पनि परमाणु बम भएको र त्यो उत्तर कोरियाको भन्दा शक्तिशाली भएको बताएका छन्। उनले लेखेका छन्, 'मसँग पनि परमाणु बमको बटन छ। उनको भन्दा विशाल र शक्तिशाली छ। र, यसले काम गर्न सक्छ।' ट्रम्पले आफ्नो यो चेतावनी कमजोर र भोकमारीग्रस्त उत्तरकोरियाबाट कसैले उनलाई सूचित गरिदिन पनि भनेका छन्।
उत्तर कोरियाली नेता उनले नयाँ वर्ष २०१८ को शुभकामना वक्तव्य दिने क्रममा अमेरिकालाई चेतावनी दिएका थिए। अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्नुअघि नै आफूले अमेरिकामाथि प्रहार गरिसक्ने संकेत उनको थियो।
टेलिभिजन सम्बोधनमा नेता उनले पूरै अमेरिका उत्तर कोरियाली आणविक मिसाइलको प्रहार क्षेत्रभित्र रहेको भन्दै यो तथ्य धम्की नभएर वास्तविकता भएको पनि उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।