राज्य भनेको पनि हाम्रो शरीर जस्तै विभिन्न अंगले बनेको हुन्छ र प्रत्येक अंगको छुट्टाछुट्टै महत्व भएझैं राज्यभित्र पनि सरकार, राजनीतिज्ञ, कर्मचारी, निजी क्षेत्र, पेशागत, आमनागरिक सबैको आआफ्नै महत्व र भूमिका हुन्छ। सबै आ–आफ्नै भूमिकामा उत्तिकै महत्वपूर्ण हुन्छन्। गाडीमा स्टेरिङ ठूलो कि इन्जिन ठूलो या चक्का ठूलो? भनेझैं देश सञ्चालन र विकासमा पनि त्यही सन्दर्भ लागू हुन्छ, प्रत्येक पक्षको उत्तिकै दायित्व हुन्छ।
३ सूत्र नागरिकका लागि
सूत्र–१ : समस्याका कुरा कम र समाधानका कुरा बढी गरौं।
हामी धेरैजसो व्यक्ति समस्याका कुरालाई प्राथमिकताका साथ उक्काइरहेका हुन्छौं। हो समस्यालाई उक्काउनु पर्छ, तर समाधानको जननीका रुपमा मात्र। तसर्थ, समस्या देखाएिता पनि समाधानसहितको प्याकेजका रुपमा मात्र सोच्ने गरौं। जस्तै कि, ‘वरिपरिका १० वटा पसल मिलेर एउटा सिस्टम बसालेर यस ठाउँलाई सफा राखे हुने नि’ भन्ने खाले चर्चा गरौं।
सूत्र–२ : अधिकारका कुरा कम, जिम्मेवारीका कुरा ज्यादा गरौं।
विकासित मुलुकका दृष्टान्त नियाल्ने हो भने, ती देशका नागरिक अधिकारका कुरा कम गर्छन्। आफ्नो जिम्मेवारी र भूमिकाबारे बढी कुरा गर्छन्। हो, सबैको आ–आफ्नो अधिकार हुन्छ, जसलाई सम्बोधित पनि गरिनुपर्छ तर यो होइन कि, अधिकारका कुरा मात्रै आओस् र दायित्वको भने चर्चै नहोस्।
सूत्र–३ : अरुले केही गरेनन् होइन, मैले के गरें भन्ने सोचौं।
अरुले नगरेको कुरा देख्न सजिलो भएर होला हामी प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मलाई केही काम नगरेको या असक्षम भनी आरोप लगाउँछौं । यसको घानमा पर्न नेता, कर्मचारी, शिक्षक, खेलाडी कोही बाँकी रहँदैन। तर त्यो आरोप लगाउने अधिकार हामीलाई त्यति बेला मात्र हुन्छ जतिबेला हामी आफैंले चाहिँ आफ्नो क्षेत्र या पेशाभित्र रहेर उत्कृष्ट कामको प्रमाणित गरेका हुनेछौं। त्यसैले फलानाले त्यो गरेर, ढिस्कानाले उसो गरेन भनेर समय बर्बाद गर्नुभन्दा मैले के गरिरहेछु भन्नेतर्फ सोच्ने कि।
३ सूत्र राजनीतिज्ञका लागि
सूत्र–१ : कस्तो राजनीतिज्ञ बन्ने?
पहिला त, राजनीतिज्ञको अस्तित्व नागरिकको अस्तित्वका कारण मात्र सम्भव छ भन्ने मनन् गरौं।
राजनीतिज्ञको अस्तित्वले नागरिकको अस्तित्व जन्मिएको होइन, नागरिकले राजनीतिज्ञ जन्माएको हो। त्यसैले नागरिक र राज्य जति सबल र सफल भयो त्यति नै नेता पनि सफल हुने हो। तपाईं नागरिकको विस्वास बिनाको राजनीतिज्ञ बन्ने कि जनतासँग जोडिएको नेता बन्ने? तपाईंलाई नागरिक र राज्य असफल बनाएर आफू सफल हुन्छु भन्ने छ भने त्यो त असम्भव छ । जनतासँग नजोडिएको सफलताले त तपाईंलाई पक्कै नेता बनाउँदैन। जनतालाई पहिलो प्राथमिकता दिनासाथ राजनीतिज्ञको सफलता सुरु हुनेछ।
सूत्र–२ : देश सिद्धान्तले मात्र होइन अनुशासन र इच्छाशक्तिले बन्छ।
विश्वकै ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा पुँजीवाद छ भने दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा पुँजीवादको उल्टो मानिने कम्युनिस्ट शासन व्यवस्था छ। लोकतन्त्र भएका देश पनि आर्थिक समृद्धिको बाटोमा छन् भने राजतन्त्र भएका देश पनि विकासको गतिमा अघि बढेका छन्। त्यसैले देश बनाउनका लागि राजनैतिक सिद्धान्त र प्रण नै सबैथोक हो भनेर रटान मात्र लगाउनु जरुरी देखिएन। विकास गर्ने दृढ इच्छाशक्ति र अनुशासन हुने हो भने त कुनै शासन व्यवस्थाले नरोक्ने रहेछ। सिद्धान्तले मात्र देश बन्छ भनेर दौडिने हो भने हामीले सिद्धान्त त बनाउन सकौंला तर देश बन्दैन । राजनीतिक लडाइँ र सिद्धान्तसँगै देश बनाउँछु भन्ने दृढता र अनुशासन भएन भने देश पटक्कै बन्दैन। राजनीतिज्ञले यो कुरा मनन् गर्ने होइन त?
सूत्र–३ : नमस्कारको भागीदार बनौं, तिरस्कारको होइन।
राजनीतिज्ञ र नीति निर्माताका लागि सबैभन्दा ठूलो पुरस्कार भनेकै मनदेखि जनताले गरेको नमस्कार हो। आफ्नो कार्यकालमा आफ्ना लागि मात्र सोचेर बेतोड धन थुपारेर केही काम लाग्दैन। रिटायर्र्ड भएको भोलिपल्टैबाट तपाईंले पाउने नमस्कार १० प्रतिशतमा झर्नेछ। तपाईं अलि पर पुग्नासाथ तपाईंले सुन्नेगरी कुरा काट्नेछन् अरुले– ‘पैसा चाहिँ कमायो, तर मान्छे चाहिँ खत्तमै रहेछ।’
क्रमशः तपाईंलाई निद्रा पर्न छाड्नेछ, मन खल्लो हुनेछ र त्यो धन खोलामा बगाइदिऊँझैं लाग्नेछ। बरु ठिक्क धन कमाउनुस् र बढी चाहिँ जनताको मन कमाउनुस्। त्यसपछि रिटायर्ड भएकै दिनबाट तपाईंको सम्मान र सामाजिक मूल्य झनै बढ्नेछ। र, नाति–नातिनाले समेत भन्नेछन्, ‘मान्छे त हाम्रो हजुरबुबा जस्तो पो हुनु।’
३ सूत्र व्यापारी, व्यवसायीका लागि
सूत्र–१ : व्यापारमात्र नगरौं, उद्यमी बनौं।
पैसा खुबै कमाइ हुन्छ भनेर नेपालको पैसा बाहिरिने व्यापारमा भन्दा अलि पछि पैसा आउने भए पनि धेरैलाई रोजगारी दिने र नेपालबाट निर्यात गर्न सकिने वस्तुको उत्पादन गर्ने उद्योग खोल्नेतिर मन लगाऔं। सिर्जनशील व्यक्तिको सिर्जनाले ठाउँ पाउने व्यवस्था बनाऔं। विचौलीया बनेर भन्दा उद्यमी बनेर कहलिएको व्यापारीको ठूलो इज्जत हुन्छ। रोजगार, स्वरोजगार र उद्यममा मानिसहरु व्यस्त भए भने यसले चियापसलमा अनावश्यक कुरो काट्ने मेलो कम हुन्छ र सिर्जनशील सोच निकाल्नेहरु बढ्न थाल्छन्। यसबाट देशमा नचाहिँदा क्रियाकलाप स्वाट्ट घट्नेछन् भने चाहिँदा गतिविधि स्वतः बढ्नेछन्।
सूत्र–२ : रोल मोडल बन्ने कोसिस गरौं।
आ–आफ्नो स्वार्थशिद्ध गर्नेगरी राज्यलाई करमा र ग्राहक वा सेवाग्राहीलाई गुणस्तरमा ठगेर कमाएको धन नेपाली उखान ‘कुन्नि के को न्यानो’ भनेझैं कमसल प्रकृतिकै हुन्छ। आफ्नो संस्थाको सोच्ने र चल्ने शैली यस्तो बनाउनुहोस् कि त्यो तरिका बरु अन्तर्राष्ट्रिय जगतलाई समेत रोल मोडल बन्न सकोस्। अहिलेको जमान भनेको सूचना प्रविधि र ग्लोबलाइजेसनको हो। यसलाई आत्मसात् गर्दै विश्वव्यापीकरणमा आफूलाई समावेश गर्ने र विदेशी मुद्रा आर्जन गर्ने गरी योजना बनाउनोस् र त्यही बाटोमा आफूलाई हिँडाउनोस्।
सूत्र–३ : सामाजिक दायित्व र राष्ट्रिय दायित्व नभुलौं।
आफ्नो संस्था र आफ्नो परिवार मात्र मेटाउनु भनेको सामाजिक रुपमा दुब्लाउनु हो। तसर्थ प्रत्येक व्यवसायी र संघसंस्थाले ‘कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी’ अन्तरमनले मनन गरौं र व्यवहारमा उतारौं।
तपाईंले आर्जन गरेको मुनाफाबाट केही रकम सामाजिक दायित्व निर्वाहमा लगाउनु भनेको तपाईंको थोरै सम्पत्ति घट्नु हुन सक्ला तर त्यसले दिने आत्मसन्तुष्टि र सम्मान तपाईंले मूल्य तिरेर किन्न नपाउने किसिमको हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।