काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माणको रकममा भ्रष्टाचार गर्ने महोत्तरी सुखैनियास्थित विष्णु जनता प्राविका प्रधानाध्यापक अमलेशकुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
विद्यालयको भवन निर्माणका लागि सरकारबाट निकासा भएको ४ लाख १९ हजार ५५ रुपैयाँ व्यक्तिगत काममा प्रयोग गरेको अनुसन्धानमा पाइएपछि अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रधानाध्यापक यादवले विद्यालयको भवन निर्माणको लागि निकासा भएको रकमबाट भवन ज्यादै कमजोर र अधुरो बनाइ भ्रष्टाचार गरेकाले उजुरीको आधारमा छानबिन गर्दा भ्रष्टाचार भएको पाइएको अख्तियार स्रोतले बतायो।
आफूखुसी खर्च गरी सरकारी रकमको बदनियतपूर्वक दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको भन्दै अख्तियारले यादवसँग विगो र जरिवाना असुल गर्न माग गरेको छ। यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय हुनुपर्ने माग आरोपपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।