काठमाडौं– एक खुल्ला मैदानमा आवश्यकताभन्दा धेरै घाँस देखिन्छ। टाढाबाट हेर्दा यो क्षेत्र घुम्नका लागि उच्चस्तरको लाग्दछ। तर यसरी एक मिटरभन्दा अग्ला घाँसहरु खास कारणले बढिरहेका छन्। पत्याउनुहुन्छ, यी घाँस मानिसको लासमा उम्रेर सप्रिरहेका छन्। केही हप्तादेखि यहाँ लास कुहिएर गन्हाइरहेको छ।
आज गर्मी र तातो दिन रहेको छ। यदि तपाईं यी अग्ला भएका घाँसहरुको बीचमा आउनुहुन्छ भने लासको दुर्गन्ध तीव्र रुपमा आउँछ। यो गन्धको कारण तपाईंको आँखामा समेत आँसु आउन सक्नेछ।
एक हेक्टरभन्दा धेरै यो मैदानमा १५ मानिसको लास रहेको छ। यी लासहरुमा कपडा छैन। केहीलाई धातुको पिँजडामा राखिएको छ भने केही लास निलो प्लास्टिकमा बेरिएका छन्। केही लास साना खाल्डाहरुमा समेत रहेको देख्न सकिन्छ।
लासहरुको खेत
यो एक ‘ओपन–एयर फोरेन्सिक एन्थ्रोपोलोजी ल्याब' हो। मानवशास्त्रको फरेन्सिक अध्ययनका लागि यसको निर्माण गरिएको हो। फ्लोरिडा विश्वविद्यालयले यसलाई चलाउँदै आएको छ। यो लैब काउन्टी जेलको नजिक रहेको टैम्पाको एक ग्रामीण क्षेत्रमा रहेको छ।

हाल यो क्षेत्र ‘लासहरुको खेत’ नामले चर्चित रहेको छ। वैज्ञानिक यसलाई ‘फोरेन्सिक चिहान’ वा टैम्फोनमी ल्याब भन्ने गर्दछन्। वैज्ञानिकहरु यहाँ मृत्युपछि शरीरमा हुने प्रक्रियाको बारेमा अध्ययन गर्दछन्।
२०१७ मा निर्माण गरिएको यो खेत पहिला हिल्सबोरामा रहेको थियो। तर त्यहाँका स्थानीय जनताहरुले विरोध प्रर्दशन गरेपछि सारिएको हो। उनीहरुले यसरी खुल्ला ठाउँमा लास राख्दा उक्त क्षेत्रमा जनावरहरुको प्रवेश, दुर्घन्ध फैलन र यस्ता चिहान घरका कारण जग्गाको मूल्यमा समेत कमी आउने तर्क राखेका थिए।
यसरी विरोध प्रदर्शन गर्नेमा स्थानीय जनताहरु मात्र थिएनन् केही वैज्ञानिकहरुले समेत प्रश्न उठाएका थिए। उनीहरुले लासको खेत बनाएर त्यसको उपयोगिता के हो भनी प्रश्न उठाएका थिए। यसले कसरी र के फाइदा हुन्छ भन्ने कुरा प्रस्ट हुनुपर्ने उनीहरुको कुरा थियो।
वैधानिक लास खेत
यो यस्तो एउटै मात्र फार्म होइन पूरै अमेरिकामा ६ वटा यस्तो अध्ययन चिहान अर्थात् लास खेत रहेका छन्। त्यस्तै यसैको सिको गर्दै अस्ट्रेलिया, क्यानडा र ब्रिटेनमा समेत यस्ता लास खेत खोल्ने तयारी अन्तिम चरणमा रहेको छ।
यो क्षेत्रमा रहेका धेरै लास खेतले अनुमति पाएका छन्। मृत्युभन्दा पहिला उनीहरुले आफ्नो लास वैज्ञानिक अध्ययनका लागि प्रयोग गर्न सक्ने अनुमति दिएका छन्। केही लासहरु भने परिवारले मृत्युपछि उपलब्ध गराएका छन्।
यस्ता फार्मको मुख्य उद्देश्य मानिसको शरिर कसरी कुहिन्छ र यसको वरपर रहेको वातावरणलाई यसले के प्रभाव पार्दछ भनेर अध्ययन गर्नु हो।

वैज्ञानिकहरुले आस गरेका छन् कि यो लास खेतको अध्ययनले त्यस्ता महत्वपूर्ण विवरण जुटाउन मद्दत गर्दछ। जसले अपराध सुल्झाउन र फोरेन्सिक मामिलालाई फराकिलो पार्न सकिन्छ।
डा एरिन किम्मरले भने, ‘जब कसैको मृत्यु हुन्छ धेरै कुरा हुन्छ, कुहिने प्राकृतिक प्रक्रियाबाहेक केही किरा उत्पन्न हुने गर्दछन्. त्यस्तै वरिपरिको वातावरणमा समेत परिर्वतन आउँछ।’
यस संस्थाका निर्देशक डा एरिन र उनको टिमको भनाइ छ, ‘लासहरुको असली वातावरण र समयमा अध्ययन गर्नु महत्वपूर्ण हो।’
उपयोगी तथ्यांक
अलग–अलग अवस्थाको अध्ययन गर्नका केही लासहरुको धातुको पिँजडामा राखिन्छ र केहीलाई खुल्ला रुपमा राखिन्छ।
वैज्ञानिकहरुले यसलाई हरेक समयमा के भइरहेको छ भनेर निगरानी राखिरहेका छन्। किराहरुले नरम टिस्युहरु खाएर कडा हड्डीहरुलाई छोड्दछ। तर खुल्ला रुपमा रहेका लासहरु गिद्ध जस्ता पशुपन्छीहरुले यसलाई खान सक्ने हुन्छन्।

‘हामी प्रत्येक लासबाट अधिकभन्दा अधिक जानकारी लिने प्रयास गर्दछौं,’ डा एरिन भन्छन्, ‘पूरा प्रक्रियाको समयमा वैज्ञानिक दैनिक फार्ममा आउने र लासमा आएको परिवर्तन नोट गर्ने गर्दछन्, उनको तस्बिर लिन्छन्। भिडियो बनाउँछन् र विस्तृत विवरण रेकर्ड राख्ने कार्य गर्दछन्।’
वैज्ञानिकहरुले लासको अवस्था र स्थानको समेत दैनिक अध्ययन गर्दछन्। भू-वैज्ञानिक र भू-भौतिकका विशेषज्ञले समेत उनीहरुसँग मिलेर काम गर्दछन्। लास रहेको क्षेत्रको माटो, पानी, हावा र बोट विरुवामा के प्रभाव परिरहेको छ उनीहरुले अध्ययन गर्दछन्।
जब लासहरु हड्डीको ढाँचामा बदलिन्छन् उनीहरुलाई ‘ड्राई ल्याब’मा पठाइन्छ। उनीहरुलाई सफा गरेर अध्ययनका लागि राखिन्छ। यही हड्डीबाट विद्यार्थी र अध्ययनकर्ताहरुले आफ्नो अध्ययन गर्दछन्।
लाससँग काम गर्ने चुनौती
यो काम धेरै मानिसका लागि हैरान दिने खालको छ। लाससँग पनि कसैले काम गर्छ र भन्ने प्रश्न सोधिन्छ। लाससँग डिल गर्नु र सडेका लासहरुसँग मिनेट मिनेटमा आएको परिर्वतनको रेकर्ड राख्न कम चुनौतीपूर्ण काम होइन।

तर मानिसहरुले यसरी सोचे पनि डाक्टर एरिनको दिमागमा यसको कुनै पनि असर परेको छैन। ‘तपाईं एक विज्ञ र वैज्ञानिक भएका कारण लासहरुका माझमा आफूलाई अभ्यस्त बनाउन सिक्नुहुनेछ,’ डा एरिन भन्छन्।
सबैभन्दा मुस्किल काम भनेको विषयको पत्ता लगाउनु भएको उनको भनाइ छ।
‘अधिकांश हत्यासँग जोडिएका जाँचमा हामी लाससँग काम गर्दछौं। त्यसैले पेचिला काण्डमा जोडिएका यस्ता काण्डमा हामीलाई झन् चुनौतीपूर्ण छ,’ डा एरिकले भने, ‘सबैभन्दा महत्वपूर्ण एउटा मानिसले अर्को मानिसका लागि के गर्न सक्दछ भन्ने हो।’
कैयौं पटक डा एरिन र उनका साथी त्यस्ता परिवारको सम्पर्कमा रहेका हुन्छन्। जसले २० देखि ३० वर्षपहिले आफ्नो बच्चा गुमाएका हुन्छन्, उनीहरु अहिले पनि उनीहरुको अवशेष खोजी गरिहेका हुन्छन्।

डा एरिनका अनुसार उनीहरुले अमेरिकामा १९८० देखि हालसम्म २ लाख ५० हजार हत्याका घटनाको सुल्झाएका छन्। अक्टोबर २०१७ मा सुरु भएलगत्तै यो फार्मका लागि ५० लास मानिसले स्वस्फूर्त रुपमा हस्तान्तरण गरेका थिए। १८० मानिसले आफ्नो मृत्यु भएपछि उक्त क्षेत्रलाई लास दिने घोषणा गरेका छन्। यसरी घोषणा गर्ने अधिकांश वृद्ध मानिस थिए। तर यी लासमध्ये जसलाई केही रोगहरु समेत लागेको उनीहरुलाई लिइएन। किनकि यसले अध्ययनमा संलग्न रहेका अध्ययनकर्ताहरुमा समेत गर्ने सम्भावना रहेको हुन्छ।
विवाद
यस्ता लास फार्महरुवाट वैज्ञानिक डाटा अवश्य पनि मिल्दछ र यसले दिन अन्य फाइदाहरु पनि छन्। ब्रिटेनका एक विश्वविद्यालयमा जैविक एवं फोरेन्सिक विशेषज्ञ पैट्रिक रैनडोल्फ भन्छन्, 'खुल्ला मैदानमा यसरी गरिने अध्ययनमा कैयौं समस्या आउने गर्दछ। लास फार्ममा हुने कामहरुको आम रुपमा समर्थन गरिन्छ तर कैयौं यस्ता चिज हुन्छन्, जसलाई नियन्त्रण गर्न सकिँदैन। त्यसलाई अनुगमन मात्र गर्नुपर्ने हुन्छ।
यसरी फार्ममा लिएको डाटाहरुलाई विश्लेषण गर्न सहज नभएको रैनडोल्फले बताए पनि डा एरिन भन्छन्, 'भविष्यमा यस्ता ओपन–एयर ल्याबले धेरै फाइदा हुने निश्चित छ।'
(बिबिसी हिन्दीमा प्रकाशित यो फिचर दुर्गा दुलालले अनुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।