एजेन्सी– धेरैजसोका लागि नयाँ वर्ष मनाउनुको अर्थ पार्टी गर्नु र पार्टीको अर्थ नढलुन्जेल रक्सीले मात्नु हुन्छ। तर, नयाँ वर्षमा सरकारले रक्सी खान प्रतिबन्ध लगायो भने यस्ता मानिसले के गर्लान्?
न्युजिल्यान्डमा रक्सीका केही पारखीले यसको रमाइलो विकल्प खोजे।
कुरा नयाँ वर्ष २०१८ कै हो। सरकारले त्यहाँको कोरोम्यान्डेल प्रायद्वीपमा नयाँ वर्षको खुसियाली मनाउन सार्वजनिक स्थलमा रक्सी खान प्रतिबन्ध लगाएपछि त्यहाँका मदिराप्रेमीहरूलाई पर्नु फसाद पर्यो। नयाँ वर्षको बहानामा टन्न रक्सी खाने विचार गरेका केही पारखीले भने सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने यस्तो जुक्ति निकाले, जसले नयाँ वर्षको पार्टी पनि हुन्थ्यो र कानुन उल्लंघन पनि हुँदैनथ्यो।
कानुनी कारबाहीबाट जोगिन र नयाँ वर्ष मनाउन उनीहरूले अन्तर्राष्ट्रिय जल क्षेत्रमा रातारात एउटा सानो टापु नै निर्माण गरे, जहाँ बसेर प्रहरी–प्रशासनको कुनै डरबिना खुलेर पार्टी गर्न सकियोस्।
आइतबार दिउँसो त्यहाँबाट बहँदै समुद्रमा मिसिने ताइरुवा नदीमा पानीको वेग थोरै भएका बेला उनीहरूले नदीको बीचमा एउटा सानो टापु निर्माण गरे। बालुवाको टापु बनाएपछि उनीहरूले त्यहाँ एउटा पिकनिक टेबल राखे र बियरलगायत पेय चिस्याउन कुलर पनि लगे।
अब उनीहरू अन्तर्राष्ट्रिय जलक्षेत्रमा रमाइलो गर्न थाले, जहाँ कोरोमंडलको प्रतिबन्ध लागू हुँदैनथ्यो। उनीहरूको समूहले रातभर आफ्नो टापुमा टन्न रक्सी, बियर पिएर र आतिसबाजी हेर्दै नयाँ वर्षको स्वागत गरे।
उनीहरूले बनाएको मिनी आइल्यान्ड सोमबारसम्म जस्ताको तस्तै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत उल्लेख गरेका छन्।
कोरोम्यान्डेल प्रायद्वीपमा रक्सीमाथिको प्रतिबन्ध उल्लंघन गरे पक्राउ परिन्छ वा १ सय ८० अमेरिकी डलर जरिवाना तिर्नुपर्छ। तर, टापुमा रक्सी खाएको कुरालाई कोरोम्यान्डेलको प्रशासनले रमाइलोका रुपमा लियो।
‘उनीहरूको सोच निकै रचनात्मक रहेछ’, त्यहाँका प्रहरी अधिकारी इन्स्पेक्टर जोन केलीले ठट्टा गरे, ‘मैले पहिल्यै थाहा पाएको भए म पनि उनीहरूसँग रमाइलो गर्थें।’
त्यहाँको एउटा स्थानीय फेसबुक समूह ताइरुवा चिटच्याटमा टापुमा रमाइलो गर्ने समूहको तस्बिर अपलोड गरेका डेभिड स्यान्डर्सको प्रतिक्रिया थियो– केही किवीजहरूले रमाइलो गरेको देखेर आनन्द आयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।