सोल- कोरियाको अस्पतालमा कोमामा रहेका एक नेपाली युवालाई शुक्रबार नेपाल फिर्ता लगिएको छ।
ब्रेन ह्याम्ब्रेज भएपछि विगत ६ महिनादेखि कोरियाको बुसानस्थित बुसान युनिभर्सीटी हस्पिटलमा कोमामा रहेका झापाका ओमनाथ ढकाललाई नेपाल फिर्ता लगिएको सिओलस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
ब्रेन ह्याम्ब्रेज भएपछि उनको उपचारका लागि आर्थिक संकलन गरी यहाँ रहेका नेपालीले सहयोग समेत गरेका थिए। सम्पूर्ण प्रयास असफल भएपछि ढकाल कोमामा पुगेको उपचारमा संलग्न डाक्टरदाई उद्धृत गर्दै किम्हे माईग्रेन्ट सेन्टरका प्रमुख यज्ञराज सुवेदीले बताए।
गत हप्ता सरकारले वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देशमा पुगेर दुर्घटनामा परि कोमामा रहेका नेपालीलाई आफ्नै देशमा लगेर उपचार गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा नर्स, डा. श्रद्धा पौडेल, परिवारका सदस्यहरु र आवश्यक उपकरणसहित कोरिया आएको टोलीसँगै बिरामीलाई नेपाल फिर्ता पठाईएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
उनले थपे, ‘नेपाल सरकारले यो निर्णय गर्नभन्दा पहिलेदेखि नै दूतावासले बिरामीलाई नेपाल फर्काउन पैरवी गरिरहेको थियो, सरकारको उक्त निर्णयले हामीलाई प्रक्रिया अघि बढाउन थप सहज भयो।’
सरकारको उक्त निर्णयपछि विदेशका अस्पतालमा कोमामा रहेकामध्ये नेपाल फिर्ता गरिने नेपालीमा ढकाल नै पहिलो हुन सक्ने दूतावासको दाबी छ।
कोरियाका अस्पतालमा कोमामा रहेका उनै ढकाल एक जना नेपाली मात्र रहेको दूतावासले जनाएको छ।
खाडीलगायत विभिन्न मुलुकका अस्पतालमा २८ नेपाली कोमामा रहेको सरकारी तथ्याङ्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।