काठमाडौं- साइप्रसमा आकर्षक काम र कमाईको प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने पाल्पा जिल्ला साविक खानीगाउँ गाविस-८ की टिकाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको छ।
फरार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार महाराजगञ्जबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगार ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो।
उक्त सजाय बेरुजु रही फरार रहेकी थापालाई सिबिआई टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
थापाले वैदेशिक रोजगार व्यवसाय संचालन गर्ने ईजाजत -पत्र बिना नै आकर्षक वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम प्राप्त गरी ठगी गरेको खुलेको छ।
अदालतले दोषी ठहर गर्दै थापालाई उल्लेखित सजाय हुने र प्रतिवादीबाट जाहेरवालालाई बिगो र हर्जाना समेत गरी कुल रकम १४ लाख २५ हजार दिलाई-भराई दिने फैसला गरेको थियो।
फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेका निज प्रतिवादीलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको व्युरोका एसपी दिपक रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।