काठमाडौं- सिसडोलवासीले फोहोर फाल्न नदिएपछि काठमाडौंको फोहोर छैठौं दिन पनि उठ्न सकेन।
नुवाकोटस्थित ककनी-२ का स्थानीयले सरकारले आफ्ना माग पूरा नगरको भन्दै विगत ६ दिन देखि फोहोर हाल्न दिएका छैनन्। विसं. २०६२ सालमा दुई वर्षका लागि उपलब्ध गराइएको स्थानमा लगातार फोहोर खन्याएपछि स्थानीयहरु आन्दोलनमा उत्रेका हुन्।
पटकपटक भएका सहमतिलाई महानगर र सरकारले पिडितको मागलाई वेवास्ता गरेको भन्दै स्थानीयको असन्तुष्टी जनाए। फोहोर व्यवस्थापनका लागि उपलब्ध जग्गा अभाव हुँदै गएसँगै नीजि जग्गामा फोहोर फालेको स्थानीयले गुनासो गरे।
काठमाडौंबाट फोहोरका गाडी बोकेर सिसडोल पुगेका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए। सुरक्षा निकायले बल प्रयोग गरी शनिबार पुगेका गाडीहरुको फोहोर फालिएको थियो। प्रहरीले आन्दोलनमा उत्रेका ११ जनालाई नियन्त्रणमा लिएको थियो।
आन्दोलनका क्रममा घाइते दर्जन बढी सामान्य घाइते भएका थिए। शनिबार बलपूर्वक फोहोर फालिएपनि आइतबार भने फोहोर बोकेका गाडीहरु सिसडोल पठाइएन। स्थानीय शमशेर भुजेल क्षेत्रीले स्थानीयको माग सुनुवाई नभएसम्म फोहोर फाल्न नदिने बताए। उनले भने, ‘२ वर्षका लागि दिएको जग्गामा फोहोर अहिलेसम्म फालिएको छ। जग्गा नपुगेर स्थानीयको जग्गा मिचेर फोहोर फालिएको छ।’
फोहोर फाल्नका लागि जग्गा अपुग हुँदै गएकाले मुआब्जा दिएर थप जग्गा अधिग्रहण गर्न स्थानीयको सुझाएका छन्। उचित मूल्यांकन गरी जग्गा अधिग्रहण गर्न दिन सकिने स्थानीयहरुको भनाई छ।
राजधानीको फोहोरलाई सिसडोलवासीले फाल्न अवरोध गरेपछि महानगर र स्थानीयबीच वार्ता शुरु भएको ककनी २ का वडाध्यक्ष कुमार पौडेलले जानकारी दिए।
स्थानीयले संघर्ष समिति गठन नै गरेर आन्दोलनमा उत्रेका छन्। स्थानीय चक्र बलामी संयोजक रहेको सिसडोल व्यवस्थापन संघर्ष समिति बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।