काठमाडौं– कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी लमजुङ दूधपोखरी गाउँपालिका–४ बस्ने भ्यान्टे कामी पक्राउ परेका छन्। उनलाई लमजुङ प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो।
भ्यान्टे समेतका ५ जनाले ३० वर्षअघि २०४६ भदौ ३ गते साँझ लमजुङ दुधपोखरी गाउँपालिका–४ स्थित कोदो बारीमा तनहुँ भानु–८ तुरतुरे बस्ने गोरखाका २७ वर्षीय बेद प्रसाद पोखरेलको हत्या गरेका थिए।
लुटपाट गर्ने योजनासहित ढुङ्गा प्रहार गरी मारेर उनको साथमा रहेको ४ हजार रुपैयाँ उनीहरुले लुटेका थिए। उनको शव स्थानीय चेपे खोलामा फालिएको अवस्थामा भेटिएको थियो।
जिल्ला अदालत लमजुङको २०४८ फागुन १३ गतेको फैसलाले कामीलाई २० वर्ष कैद तोकिएको थियो । वरदात पश्चात फरार रहेका भ्यान्टेलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत लमजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय लमजुङ पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।