काठमाडौं– पनौती नगरपालिकाका वडा नं २ र ३ मा बालमैत्री स्थाननीय शासन घोषणा गरिएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले शनिबार औपचारिक रुपमा पनौती २ र ३ लाई बालमैत्री वडा घोषणा गरेका हुन्।
कार्यक्रममा पनौती नगरपालिका वडा नं २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी र ३ का वडाध्यक्ष किशोर थापाले आ–आफ्ना वडाका बालमैत्री घोषणापत्र प्रस्तुत गरेका थिए।
घोषणा सभामा दुवै वडाध्यक्षले पनौती नगरपालिका वडा २ र ३ ले बालमैत्री स्थानीय शासनका लागि चाहिले ३९ वटै सूचक पूरा गर्न सक्षम भएपछि बालमैत्री स्थानीय शासन घोषणा गरिएको जानकारी गराएका थिए।
बालमैत्री घोषणा कार्यक्रमअघि स्थानीय विद्यालयका विद्यार्थीले र्याली निकालेका थिए। पनौती नगरपालिका वडा नं २ चालिसेबाट सुरु भएको विद्यार्थीको र्याली बालमैत्री स्थानीय शासन घोषणास्थल कुशादेवी माविको प्रांगणमा पुगेर टुंगिएको थियो।
बालमैत्री स्थानीय शासन घोषणा सभाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बालबालिकालाई सबैभन्दा ठूलो शिक्षा समाज र परिवारबाटै आवश्यक रहेको बताए।
कार्यक्रममा प्रदेशसभा सांसद बसुन्धारा हुमागाईं, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, उप–प्रमुख गीता बञ्जारा, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जुलगायतका जनप्रतिनिधिले बालमैत्री स्थानीय शासनबारे आआफ्ना धारणा राखेका थिए।
स्थानीय विद्यार्थी, बालबालिकाका, अभिभावक, एवं दलका प्रतिनिधिहरुको ठूलो उपस्थिति रहेको कार्यक्रममा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
सो अवसरमा पनौती नगरपालिका कार्यालयले बालमैत्री स्थानीय शासन घोषणा गर्न सक्षम भएकोमा वडा नं २ र ३ लाई पाँच/पाँच लाख रुपैयाँ पुरस्कारले सम्मान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।