पर्वत– पत्रकार अशोक पौडेलले विवाहको खर्च कटाएर आफूले अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन्। पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माध्यामिक बिद्यालयलाई उनले विवाह खर्चबाट ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेसविज्ञ समेत रहेका उनले विद्यालयमा कम्प्युटर शिक्षक राख्न सहयोग पुर्याउने उद्देश्यले कोष स्थापनाका लागि सहयोग गरेको बताए। विवाहको प्रितिभोजको अवसरमा बिहीवार उक्त रकम वडा अध्यक्ष तेजप्रसाद पाध्याको उपस्थितिमिा पौडेलका बुवा यामनाथ शर्माले विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमलाई हस्तान्तरण गरे।
काफलचौर माध्यामिक विद्यालयमा कक्षा ६ देखी ८ सम्म कम्प्युटर शिक्षा अध्यापन हुँदै आएको छ । विद्यालयमा सुविधा सम्पन्न कम्यूटर ल्याब समेत रहेको छ तर गाउँमा अध्यापन गराउनका लागि कम्युटर शिक्षकको अभाव हुँदै आएका कारण प्रयोगात्मक कक्षा सञ्चालनमा ल्याउन समस्या छ।
कम्प्युटरको सैद्धान्तिक तथा प्राविधिक पठनपाठनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने, कम्प्युटर ल्याबलाई व्यवस्थित बनाउन आवश्यक स्रोत जुटाउने सहयोग पुग्ने विद्यालयका प्रअ लक्ष्मण गौतमले बताए। उक्त रकमबाट विद्यालयका दुई जना शिक्षकलाई कम्प्युटर तालिम गराइ दक्ष बनाउने र अन्य सबै शिक्षकलाई पनि आधारभूत कम्युटर शिक्षा दिने उद्देश्य राखिएको उनको भनाई छ । पौडेलले असार १० गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटीकी प्रतिभा सुवेदीसँग विवाह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।