काठमाडौं- मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित भएका छन्। पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ।
जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा शर्मालाई सम्मान गरे। काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहेका प्रा डा शर्माले नेपाल, भूटानलगायत दक्षिण एसियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आएका छन्।
यस्तै अफ्रिकी मुलुक इथियोपियाको समेत पानी र जलाधारको क्षेत्रमा अध्ययन गरेका छन्। आफ्नो आमाको प्रेरणाबाट हिमाली क्षेत्रका तालतलैया, पानी र जलाधारको संरक्षणका क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै उनले काठमाडौं उपत्यकाको चारैतिर जलाधार संरक्षणका लागि ठूला-ठूला पोखरी निर्माण गर्नुपर्ने सुझाव दिए।
काठमाडौंका डाँडाडाँडामा पानी पोखरी बनाउनुपर्नेमा रिसोर्ट बनाउन थालिएकामा समेत पुरस्कृत व्यक्तित्व शर्माले दुखेसो व्यक्त गरे। उनले भने, 'आदिमकालमा काठमाडौंको पानी बाहिर पठाउन एउटा मञ्जुश्री आएका थिए। काठमाडौं उपत्यकामा पानी बढाउन अब पाँच वटा मन्जुश्रीको आवश्यकता देखिएको छ।'
उक्त पुरस्कारबाट यसअघि डा भगवान कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसकेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।