नगरकोट– उपस्थित दर्शक/स्रोताका अगाडि समालोचक महेश पौड्याल एकाएक नोस्टाल्जिक बन्न पुगे। त्यो नोस्टाल्जिया थियो, बाल्यकालको। जतिबेला उनले दराजमा रवीन्द्रनाथ टैगोरका किताबहरू फेला परेका थिए।
रवीन्द्रनाथप्रतिको बाल्यकालीन प्रेम उनको अहिले पनि उत्तिकै छ। टैगोरलाई उही प्राय: दोहोर्याइरहन्छन्। ‘टैगोरका हरेक किताबबाट म प्रभावित छु,' नगरकोटको चिसोमा उनी सुनाइरहेका थिए, 'उनका कविताका पंक्ति र कथाका डायलग दिमागका पत्रहरूमा अझै सुरक्षित छन्।'
पौड्यालसँगै लेखकहरु घनश्याम खड्का, दीपक सापकोटा लगायतले पनि आफ्ना स्मृतिपत्रबाट सम्झनाहरु फुत्तफुत्त निकालिरहेका थिए।
लेखकहरूका पठनको सुरुवाती सम्झना कस्ता थिए? समाजमा उठिरहेका विषयलाई साहित्यले सम्बोधन गरिरहेको छ? पहिलोपटक पढेकामध्ये सबैभन्दा प्रभाव पार्ने किताब कुन थिए? यिनै विषयका कार्यक्रम केन्द्रित थियो।
‘पढाउनेले पढौं’ भन्ने स्लोगनसहित नेपाल प्रहरी स्कुल, साँगाले आयोजना गरेको मासिक कार्यक्रम ‘बुक मेनु’को सातौं शृंखला लेखक खड्काले भने, 'नेपाली समाजको मुलधारमा आएका नयाँ प्रतिभाले अनेक मुद्दामाथि निकै गम्भीर भएर लेखन गरिरहेका छन्।’
अर्का वक्ता लेखक तथा पत्रकार सापकोटाले विश्वविद्यालयका प्राध्यापक र इतिहासविदलाई पनि स्कुलका विद्यार्थी, शिक्षकले प्रश्न गरिरहनुपर्ने भनाइ राखे। ‘नेपाली समाज अनेक सांस्कृतिक–सामाजिक संरचनाबाट निर्माण भएको छ। यहाँका थुप्रै मुद्दामा साहित्य लेखिएको छैन,' उनले भने, 'अब प्रश्न सँगसँगै विमर्श गर्ने संस्कारको सुरुवात गर्नुपर्छ।’
कथाकार दिनमान गुर्मछानले मधेसका स्कुलमा पठन संस्कृतिको विकास हुन नसकेको तितो यथार्थ सुनाए।
कार्यक्रममा कवि रामगोपाल आशुतोष, आयोजक संस्था नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल नवीन श्रेष्ठ, समादेशक दिनेशराज मैनालीले पनि पठनसम्बन्धी अनुभव बाँडेका थिए।
‘पठन संस्कृतिको विकास गर्नु कार्यक्रमको उद्देश्य हो। आफू नपढी अरुलाई पढाउन सकिन्न भनेर शिक्षकलाई प्रेरित गर्नैका लागि यस्ता कार्यक्रम आयोजना गरेका हौं,' प्रहरी स्कुलका शिक्षक कवि हरिहर तिमल्सिनाले कार्यक्रमबारे प्रस्ट्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।