जंगी अड्डा परिसरमा वृक्षारोपण गरेर अभियानको सुरुवात गर्दैप्र धानसेनापति थापा। तस्बिर : नेपाली सेना।
काठमाडौं– नेपाली सेनाले सरकारले शनिबारदेखि सुरु गर्न लागेको 'वृक्षारोपण वर्ष' अभियानलाई साथ दिन ‘एक जवान, एक बिरुवा’ अभियान सुरु गरेको छ।
सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियानलाई साथ दिन सेनाले पनि फलफूलको बोट रोप्ने अभियान शुक्रबारबाट सुरु गरेको हो।
सैनिक मुख्यालय जंगी अड्डा परिसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले भिन्न जातका फलफूलका बिरुवा रोपेर अभियानको सुरुवात गरे।
सरकारले वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार (भोलि) वृक्षारोपण गर्दैछ। आगामी आर्थिक वर्ष २०७६/०७७ लाई ‘वृक्षारोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा कलंकी-कोटेश्वर सडकखण्डको दुवैतर्फ वृक्षारोपण गर्न लागिएको हो।
वृक्षारोपण शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच कोटेश्वरमा उद्घाटन गर्नेछन्।
सेनाले सुरु गरेको वृक्षारोपण अभियानमा जंगी अड्डामा कार्यरत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका सबै पृतना, वाहिनी, गण, गुल्महरुले ब्यारेकभित्र र बाहिर गरी एक लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका फलफूल तथा अन्य बिरुवाहरु रोपिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।