काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।
प्रहरी महानिरीक्षक खनालले काठमाडौंको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको लागि नभई सबै नागरिकका लागि भएकाले त्यसमा सबैको सहयोगको आवश्यकता रहेको पनि स्पष्ट पारे।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सडक दुर्घटना न्यूनिकरणका लागि पनि सबैको सहयोग जरुरी रहेको धारणा राखे। प्रहरी महानिरीक्षक खनालले समय निकालेर यात्रामा निस्कन पनि सवारी चालकहरुलाई आग्रह गरे। समयमा ननिस्कने अनि गन्तव्यमा ढिला पुगे ट्राफिक जामलाई दोष दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने महानिरीक्षक खनालको भनाइ छ।
'समयमै यात्रामा निस्किएमा कसैलाई पनि जामको हैरानी पर्दैन। यात्रु तथा चालकले पनि यो कुरा मनन गरे जाम भयो भन्दै ट्राफिक प्रहरीमाथि दोष दिइराख्नु पर्दैन,' उनले भने।
उनले काठमाडौंलाई सुन्दर सहरको रुपमा परिचित गराउन पनि यसको ट्राफिक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि 'समुदायसँगको साझेदारी कार्यक्रम'लाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।