काठमाडौं– रोजगार अनुमति प्रणाली इपिएस शाखाले भोलि ( शुक्रबार) कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक गर्दैछ।
गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने इपिएस शाखाले जनाएको छ।
यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।
आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन्।
यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।
दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ।
कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने उल्लेख गरिएको इपिएस कोरिया शाखाका सूचना अधिकारी सोभाकर भण्डारीले जानकारी दिए।
यसवर्षको परीक्षामा १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ।
‘कोरियाले कामदार लैजाने कोटा अनुसार नै परीक्षार्थीहरू छनोट गरिन्छ, १० हजारको हाराहारिमा नै परीक्षार्थी उत्तीर्ण गरिन्छ,’ सूचना अधिकारी भण्डारीले नेपाललाईभसँग भने।
कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।
दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन्। एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार भन्दा बढी युवाहरुले सहभागिता जनाइसकेका छन्।
हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ।
अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थी मध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए।
भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।