संसारका सबै सभ्यतामा अनेक किसिमका खाना–परिकारमा नहाली हुँदै नहुने तत्व ‘नुन’ जस्तो हो कविता। नुनविनाको कवाफ, नुनविनाको तरकारी, नुनविनाको अचार कस्तो झुर खल्लो हुन्छ! ठिक त्यस्तै कवितात्मक हरफ नभएको निबन्ध कस्तो नीरस होला? देवकोटाको कुनै निबन्धको कवितात्मक हरफ हटाए कति झुरलाग्दो हो? कुनै नाटकका पात्रले कवितात्मक शैलीमा संवाद हान्दा कस्तो गज्जबले दर्शकलाई जुरुक्कै उठाउँछ। उपन्यास र कथाका पात्रले कवितात्मक किसिमले भावना पोख्दा पाठकको मनमा दमदार छाप लाग्छ।
आत्म कथामा पनि ठाउँठाउँमा कवितात्मक किसिमले विषयलाई प्रस्तुत गरेको पढ्न पाउँदा पाठकलाई गज्जब लाग्छ। कवितात्मक अभिव्यक्तिसहित रचिएका र गाइएका गीत (जस्तै: नारायणगोपालले गाएका अधिकांश गीत) बाट कवितात्मक पक्ष हटाए कस्तो भ्वाङ पर्ला? वक्ताले आफ्नो भाषणमा कविताका दुई–चार हरफसमेत राख्दा श्रोताको ताली नै पाउँछ। अचेल त कवितात्मक संवाद लेख्ने विशेष मानिस समेत राखेर सिनेमामा ‘डाइलग’ लेखाएको सुनिन्छ। कतिपय लेखकले आफ्नो पुस्तकको ड्राफ्ट सकेपछि सम्पादन गर्न भाषा र शैली राम्रो (कवितात्मक) भएको ‘घोस्ट राइटर’ खोजेर महँगो शुल्क तिरेर काम लगाएको सुनिन्छ। यसरी साहित्यका धेरै विधालाई चम्काउन समेत नभई नहुने ‘तत्व’ पनि हो कविता।
जीवनका तमाम कामको प्राथमिकता तोक्ने र सोहीअनुसार स्रोतको बाँडफाँट गर्ने गरिन्छ। स्रोत बाँडफाँट भन्नाले समय, चिन्तन–मनन र आर्थिक स्रोत समेतको लगानी हो। जसले कवितालाई पहिलो प्राथमिकतामा राखेर धेरै लगानी गर्छ, उसले नै राम्रो कविता दिन्छ। कुरा तितो छ तर सत्य छ। जसरी ध्यान गर्नेले आँखा बन्द गरेर बसे पनि शरीरका हरेक तन्तु के कसरी चलिरहेछन्, श्वासप्रश्वास कसरी चलिरहेछ, बाहिर संसारमा के भइरहेछ भन्ने सबै कुरा थाहा पाइरहेको हुन्छ, त्यसरी नै प्रतिबद्ध कविले पनि अरूसरह नर्मल गतिविधिमा संलग्न हुँदाहुँदै सजग र सचेत छैटौं ज्ञानेन्द्रले कविता खोजिरहनुपर्छ। कविताका निम्ति तपस्या गर्नु भनेको यही हो। सिर्जनशील तनावमा कहिले घनीभूत, कहिले सहज किसिमले कविले आफूलाई होम्नुपर्छ भनेको पनि यही हो।
कति कविले ‘यो आजै बिहान लेखेको’ भनेर कविता वाचन गर्छन्। आजै लेखेर आजै सुनाउने हतारो सभ्य व्यवहार होइन। यो कविताप्रतिको अनादर पनि हो। सभ्य मानव समाजमा त नौ महिनाको विशेष प्रक्रियापछि जन्मेको बच्चाको पनि रगत, र्याल, सिँगान, फोहोरहरू धोई–पखाली गरेर, केही सुहाउँदिलो वस्त्रले केही अङ्ग छोपेर, केही अङ्ग खुला राखेर मात्र सार्वजनिक उत्सवसहित बच्चाको मुख देखाउने, हेर्ने काम गरिन्छ। अपवादबाहेक कवितालाई पनि जन्मिसकेपछि केही पालिस गरेर, सजाएर समाजको सामु देखाउनु सभ्य संस्कार हो भनिठान्छु।
लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता सानदार, बिछट्टै गज्जबको कविता लेखेँ भनेर दङ्ग लाग्छ। लाग्नु पनि पर्छ। यही दङ्गदास पार्ने बिन्दासेपन नै कविता र कविको नातालाई निरन्तर बलियो बनाउने भिटामिन ऊर्जा हो। तथापि, यो बेहोसी उमङ्गको क्षण हो। भर्खर बच्चा जन्मेका बेला आमाले बच्चा मात्र देख्छिन्। बच्चाको जिउभरिका फोहोर, साल, नाल, रगत लतपतिएको देख्दिनन्। उमङ्गको पहिलो जोडदार आँधी गुज्रेर गएपछि, आमाको मनस्थिति नर्मल अवस्थामा आएपछि आमाले बच्चाको जिउको फोहोर देख्न थाल्छिन्। त्यसैगरी कविले पनि लेखिसक्नेबित्तिकै कवितामा कुरा दोहोरिएको, विम्ब र प्रतीकहरूको तालमेल नमिलेको, मिथकको प्रयोग अति भएको, शब्द छनोट र वाक्य गठन नमिलेको आदि केही देख्दैन।


कवि पनि कविता लेखिसकेर ‘उमङ्ग’को मनोगत बाढी–आँधीबाट गुज्रँदै केही समयपछि नर्मल जीवनमा फर्कन्छ। एक–डेढ दिन, एक हप्ता वा एक महिना या अझ धेरै समय पनि लाग्न सक्छ। केही समयको अन्तरालपछि कविता फेरि निकालेर हेर्दा कवि अब एक पाठक, विश्लेषक र अविभावक पनि हुन्छ। ऊ आफ्ना सन्तानलाई हर किसिमले सही ठान्ने ‘धृतराष्ट्रिय तथा गान्धारी सिन्ड्रोमबाट मुक्त भएर बुद्धि विवेक लगाएर सोच्ने हुन्छ। भावनामा बहकिने मात्र नभएर तर्कसङ्गत सांसारिक हुन्छ।
कवितामा के ‘बढी’ भयो र के ‘कम’ भयो भनी सोच्न सकिन्छ र कवितामा शब्द छनोट, विम्ब विधान, प्रतीक चयन, मिथको प्रयोग, रूपक प्रयोग, वाक्य गठन, आदि मिले–नमिलेको केलाउनुपर्छ। नमिलेको मिलाउनुपर्छ। यसरी पालिस गरेर जब कविता आफूलाई ताजा–नौतुन लाग्छ, तब मन मिल्ने साथीहरूलाई सुनाएर सुझाव लिने र अझ फेरि खिप्ने–चिल्याउने, खाक्सी लगाउने काम गर्नुपर्छ। आफ्नो कविताका शब्द र हरफ काटेर फाल्नुजस्तो कठिन कविलाई केही हुँदैन। तर सुनलाई गहना बनाउन आगोमा हालेजस्तै कवितालाई खार्नका निम्ति निर्ममतापूर्वक क्रूर काम गर्नुपर्ने हुन्छ।
यतिबेला विचार गर्ने आधार– मेरो कविताले अहिलेसम्म कसैले नहेरेको कोणबाट जीवनलाई हेर्न सघाउ पुर्याउँछ? कसैसँग नमिल्ने शैलीगत भिन्नता मेरो कवितामा छ? आफ्नै पुराना कविताका कुरा पो दोहोरिए कि? भनी मिहीन जाँच गर्नुपर्छ। नयाँपन नभए च्यातेर फालिदिने हिम्मत पनि गर्नुपर्ने हुन सक्छ। नयाँ र तरोताजा किसिमको भए मात्र कविता ‘ठिक’ बन्यो भन्नुपर्छ। त्यसपछि बल्ल गोष्ठीमा सुनाउने वा प्रकाशन गर्न सकिन्छ।
हरेक ‘साथी’भित्र एक सशक्त ‘प्रतिस्पर्धी’ पनि बसेको हुन्छ। आफ्नै कवि साथी कविताको अखडामा एक बलियो ‘प्रतिस्पर्धी’ पनि हो। तर दुश्मन होइन। व्यावसायिक ईर्ष्या कविका बीच पनि हुन्छ। हुनु पनि पर्छ। एक कविले अर्को कविको ईर्ष्या गर्यो भने अब्बल कविता सिर्जना भएको बलियो सूचक हो। राम्रो कविताले अरूलाई पनि अझ राम्रो कविता लेख्ने ईर्ष्यालु ऊर्जा दिन्छ। अर्को कविलाई समेत राम्रो कविता सिर्जना गर्नैपर्ने बाध्यकारी मानक–उदाहरण खडा गरिदिन्छ र त्यो मानकभन्दा कमसल कविता नलेख्ने वातावरण बन्छ। हरेक कविताले बजारमा प्रतिस्पर्धा गर्नैपर्ने हुन्छ।
बजार असाध्यै क्रूर हुन्छ। कुनै अमुक कविको कवितालाई विशेष प्रतिशत छुट दिएर बजारले हेर्दैन। जुन कविता खरो उत्रन्छ, त्यही चल्छ। खरो उत्रिनका लागि कविता नै ईर्ष्यालाग्दो हुनुपर्छ।
(सुब्बाको कवितासंग्रह 'रोज्जा कविता'को भूमिकाबाट सम्पादित अंश। संग्रह शनिबार सार्वजनिक हुँदैछ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।