काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालको ‘कूटनीतिक मर्यादा बढाउने’ कामलाई आफ्नो आगामी कार्यभारमा राखेको छ।
पररराष्ट्र मामिलामा नेकपाले विशेषगरी आफ्ना ३ वटा प्राथमिकता निर्धारण गरेको छ।
पहिलो, राष्ट्रिय हितको प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित परराष्ट्र सम्बन्ध अघि बढाउने नेकपाको प्राथमिकता छ।
त्यस्तै असमान सन्धिसम्झौताको पुनरवलोकन गर्दै पारस्परिक लाभ, सम्मान, समानता र राष्ट्रिय हितअनुरुप नयाँ सन्धिसम्झौता गर्नुलाई नेकपाले दोस्रो प्राथमिकता बनाएको छ।
तेस्रो प्राथमिकतामा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील हुँदै नेपालको कूटनीतिक मर्यादा बढाउनु नेकपाले आफ्नो प्राथमिकतामा राखेको छ।
असंलग्नता र पञ्चशीलमा आधारित कूटनीति र असमान सन्धिको खारेजी/पुनारवलोकन नेपाली विदेश नीतिका स्थापित मान्यता भएकाले नेकपाले कूटनीतिक मर्यादालाई बढाउने विषय विशेष महत्वका साथ राखेको छ।
‘स्थापित अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा अनुरुप अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील हुँदै यस्तै मर्यादा देशभित्र अन्य देशका नियोगहरू तथा नेपाल भ्रमणमा आउने विदेशी नेता र प्रतिनिधिमण्डहरूसँगको भेटघाट र सम्बन्धका सन्दर्भमा स्थापित गर्नुपर्छ,’ नेकपाले ३ जेठ २०७५ मा निर्वाचन आयोगमा बुझाएको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘राज्यका विभिन्न निकायसँग सम्बद्ध व्यक्तिहरूले त्यस्तै मर्यादाअनुरुप व्यवहार गर्नुपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्दछ।’
विदेशी सुरक्षा निकायमा भर्ति विस्थापन
नेकपाले आफ्नो राजनीतिक कार्यभारमा राष्ट्रिय सुरक्षाको सुदृढीकरणलाई पनि राखेको छ। नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील रहेको भन्दै नेकपाले दुई विशाल छिमेकीको बीचमा रहनुले अवसर र चुनौती दुवै थपेको विश्लेषण गरेको छ।
चीन र भारतको विशाल बजारको उपयोगबाट लाभ लिनसक्ने अवसर एकातिर भएको र अर्कोतर्फ नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेतन सक्रियता कायम राख्नुपर्ने आवश्यकता रहेको नेकपा विश्लेषण छ।
३९ पृष्ठ लामो नेकपाको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘विश्व शक्तिको रूपमा विकसित दुई विशाल छिमेकीको बीचमा रहेको नेपालले एकातर्फ ती देशहरूको विशाल बजारको उपयोग, विकास र प्रगतिबाट लाभ लिनसक्ने अवसर रहेको छ भने अर्कोतर्फ नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेतन सक्रियता कायम राख्नुपर्ने आवश्यकता छ।’
राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्दै आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउनु पर्ने आवश्यकता ठानेको नेकपाले विदेशी सुरक्षा निकायमा नेपालीको भर्ति विस्थापनको नीति लिएको छ।
‘रोजगारीको लागि विदेशी सुरक्षा निकायमा भर्ति हुने व्यवस्थालाई विस्थापन गर्नेतर्फ ध्यान दिइनु पर्छ,’ नेकपा प्रतिवेदनमा भनिएको छ, ‘नेपालको समग्र सुरक्षामा कुप्रभाव पार्नसक्ने कुनै पनि विषय र कार्यलाई छुट दिइनु हुन्न । यसका लागि आवश्यक कानुन निर्माण गर्नुपर्छ। राजनीतिक जीवनका सबै क्षेत्र, राज्य सञ्चालन र शैक्षिक क्षेत्रमा दशभक्ति तथा समाजप्रतिको कर्तब्यबोध गराइनु पर्छ।’
विश्व विश्लेषण : निगम पुँजीवाद तेस्रो विश्वलाई चुनौती
रुसी अक्टोबर क्रान्तिपश्चात् साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयामहरूमा महत्वपूर्ण परिवर्तनहरू देखापरेको विश्लेषण नेकपाको छ।
श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादबीच, साम्राज्यवाद-साम्राज्यवादबीच र विश्व साम्राज्यवाद तथा उत्पीडित राष्ट्रबीचका आधारभूत अन्तर्विरोध अहिले पनि कायमै रहेको निष्कर्ष निकालेको नेकपाले विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध प्रखर र प्रमुख रुपमा अभिव्यक्त भइरहेको दाबी गरेको छ।
एकाधिकार पुँजीवादले २१औं शताब्दीको सुरुवातसम्म आइपुग्दा विश्वका अधिकांश मुलुकहरूलाई बजारका रुपमा परिणत गर्दै त्यसलाई एउटा विश्व प्रणालीको स्वरुप दिएको नेकपाको ठम्याइ छ।
पुँजीवादी घरानाका हातमा पुँजीको अत्याधिक संकेन्द्रण भएको र यसले व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय दिएको निचोड निकाल्दै प्रतिवदेनमा भनिएको छ, ‘एकाधिकार पुँजीवाद आज भूमण्डलीकृत वित्तीय पुँजीवादको स्वरुपमा रहेको छ। मुठ्ठीभर पुँजीवादी घरानाहरूका हातमा पुँजीको अत्याधिक संकेन्द्रण, वित्तिय एकाधिकार पुँजीमार्फत् नव आपनिवेशिक शोषण, विश्व वित्तीय संस्थाहरू र बहुराष्ट्रिय निगमहरू मार्फत् विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयाश, नवउदारवादी विचारधारामार्फत् व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय एवं विश्वलाई पुँजीवादी माल र मनोरञ्जनको बजार बनाउनु यसका विशेषताका रुपमा रहेका छन्।’
विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत् विश्वव्यापी रुपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको वर्चस्व कायम गर्ने प्रयास भइरहेको पनि नेकपाको मत छ। ‘औद्योगिक तयारी वस्तुहरूको निर्यातभन्दा पनि वित्तिय पुँजीको निर्यातमा जोड दिँदै बहुराष्ट्रिय निगमहरूमार्फत् विश्वव्यापी वित्तिय एकाधिकार कायम गर्न प्रयाश भइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ।
‘आउट सोर्सिङ’ले श्रमजीवी वर्गलाई विभाजित बनाएको र प्रविधिको लाभबाट बहुसङ्ख्यक जनता बञ्चित रहेको भन्दै प्रतिवदेनमा भनिएको छ, ‘सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिङमार्फत श्रमजीवी वर्गलाई विभाजित, असुरक्षित र पराश्रित बनाइएको छ। विज्ञान र प्रविधिमार्फत् विश्वले आर्जन गरेको प्रगतिबाट लाभान्वित हुन बहुसङ्ख्यक जनता बञ्चित छन्।’
वित्तीय एकाधिकार पुँजीवादको सबैभन्दा बढी असर तेस्रो विश्वका मुलुकहरूमाथि परेको विश्लेषण नेकपाको छ। ‘स्वदेशी कृषि र औद्योगिक उत्पादन विस्थापित भएर ती मुलुकहरू शक्तिशाली वहुराष्ट्रिय निगमका बजार जस्तो बन्न पुगेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘वस्तु आयात गरेर निर्वाह गर्नुपर्ने स्थितिले तेस्रो विश्वका मुलुकहरूमा अत्यधिक परनिर्भरताको स्थिति सिर्जना गरिदिएको छ।’
ती मुलुकहरू श्रमशक्ति निर्यात गरेर त्यसबाट प्राप्त विप्रेषण रकम (रेमिट्यान्स)को भरमा जीवन निर्वाह गर्नुपर्ने उपभोक्तावादी समाजमा परिणत हुँदै गएको पनि नेकपाको ठम्याइ छ।
तेस्रो विश्वका मुलुकहरूको राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘जनतालाई प्राकृतिक स्रोत र साधनमाथिको स्वामित्वबाट विस्थापन गर्ने, जातीय, क्षेत्रीय तथा धार्मिक प्रकृतिका साम्प्रदायिक द्वन्द्वहरू सिर्जना गराउने, आन्तरिक द्वन्द्वमा फसाएर तेस्रो विश्वका मुलुकहरूको राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्रहरू भइरहेका छन्।’
त्यस्तै शक्ति राष्ट्रहरू आणविक अस्त्रमाथि नियन्त्रण कायम गर्दै हतियार व्यापारको निम्ति विश्वव्यापी प्रभुत्व कायम गरिरहेको नेकपाको विश्लेषण छ।
‘इस्लामिक आतंकवादको विरोधको नाममा इराक, अफगानिस्तान, सिरियालगायतका अधिकांश खाडी मुलुकहरूमा युद्ध थोपरिएको छ,’ नेकपाको प्रतिवदेनमा भनिएको छ, ‘युद्धको भित्री आशय भने खाडी क्षेत्रबाट तेल र ग्याँसलगायतका प्राकृतिक स्रोतहरूको दोहन गर्नुमा केन्द्रित छ।’
कोरियाली प्रायःद्वीपमा बढ्दो तनाव, आतङ्कवाद र विभिन्न रुपमा प्रकट हुँदै गरेका जातीय एवं धार्मिक अतिवाद विश्व शान्ति, सामाजिक सद्भाव र सांस्कृतिक एकताका लागि चुनौती बन्दै गएको नेकपा विश्लेषण छ।
शक्तिराष्ट्रहरुबीच ‘व्यापार युद्ध’ हुन सक्ने आशङ्का समेत उब्जिएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकाले अरु मुलुकहरूबाट आयातित वस्तुहरूमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर ‘व्यापार युद्ध’ हुन सक्ने आशङ्का समेत गर्न थालिएको छ।’
विश्व वित्तीय पुँजीवाद गंभीर सङ्कट र मन्दीबाट गुज्रिरहेको बेला चीन लगायतका मुलुकहरूले भने अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
चीनले हासिल गरेको उपलब्धि प्रेरणादायी भएको भन्दै प्रतिवेदनमा गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बारे भनिएको छ, ‘चीनले हासिल गरेको चमत्कारिक उपलव्धि प्रेरणादायी छ। आर्थिक विकास, यातायात लगायत आवागमन सम्पर्क (कनेक्टिभिटी) र विभिन्न मुलुक र सभ्यताका बीचमा सम्बन्ध जोड्ने उद्देश्यका साथ चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ लाई विश्वका ७० भन्दा बढी मुलुकहरूले समर्थन गरेका छन् र विकासका नयाँ अवधारणाहरू विकास गर्दैछन्।’
एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको नेकपाको विश्लेषण छ। ‘एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको छ र भूमण्डलीकृत पुँजीवादको ध्यान पनि त्यतै केन्द्रित हुँदैछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी नेतृत्वको एक ध्रुवीय शक्तिलाई चुनौती दिँदै विश्व बहुध्रवीय दिशातर्फ अग्रसर भइरहेको छ। यससँगै नयाँनयाँ अवसर र चुनौतीहरू पनि सिर्जना भएका छन्।’
अन्तर्राष्ट्रिय परिदृष्यका अतिरिक्त भूराजनीतिमा विकसित भइरहेका घटनाक्रमलाई पनि नजिकबाट नियाल्नुपर्ने मत नेकपाको छ।
‘अन्तर्राष्ट्रिय परिदृष्यहरूका अतिरिक्त हामीले हाम्रो भूराजनीतिक सन्दर्भमा विकसित भइरहेका घटनाक्रमहरूलाई पनि नजिकबाट नियाल्नु पर्दछ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘अमेरिकासँग भारतको बढ्दो सैन्य साझेदारी, अमेरिका, भारत, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाबीचको सैन्य गठबन्धन, दक्षिण चीन सागर र मलक्का जलडमरु लगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयाश, कोरियाली प्रायद्विपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिलगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नु पर्दछ।’
यसले नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावका बारेमा आवश्यक सजगता अपनाउनु पर्ने प्रतिवदेनमा उल्लेख गरिएको छ।
‘युद्ध, आणविक अस्त्र र हातहतियारको होडबाजीको विरोध गर्दै उत्पीडित राष्ट्रहरूको स्वाधीनताको रक्षा एवं शान्ति, समृद्धि र आर्थिक विकासको निम्ति निरन्तर प्रयत्न जारी राख्नु पर्दछ,’ प्रतिवदेनमा भनिएको छ।
राष्ट्रिय स्वाधीनता सहितको समाजवाद अहिलेको संकटको समाधान रहेको नेकपाको निचोड छ। भनिएको छ, ‘वित्तीय भूमण्डलीकृत साम्राज्यवादले जुन संकट उत्पन्न गराइराखेको छ, त्यसबाट मुक्तिको लागि एक मात्र विकल्प भनेको राष्ट्रिय स्वाधीनता सहितको समाजवाद नै हो। वर्तमान संकटले समाजवादको आवश्यकता र औचित्यतालाई झनै पुनर्पुष्टि गर्दै लगेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।