काठमाडौं- सत्तारुढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका छन्।
सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका हुन्।
'त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दै उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति शिक्षा मन्त्रालयले कसरी लिएको छ?' उनको प्रश्न थियो।
'नम्बर बढाएर गोल्ड मेडल लिने संस्कृति के संस्कृति हो? नेपालमा सबै कुरा पैसाले घुमाईरहेको छ। सर्टिफिकेट किन्न पाईन्छ। भू-माफिया देखि विचौलियाले कब्जामा लिन सक्छन्,' उनले भने, 'यस विषयमा शिक्षा मन्त्रालयले के गरिरहेको छ? उसको दृष्टिकोण स्पष्ट पारियोस्।'
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाए। उनले भने, 'सरकार नै सामाजिक सद्भाव र जातिजातिका बीचमा र नागरिक नागरिक बीचमा नै द्धन्द्ध गराउन चाहन्छ। उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ। यस्ता घटनामा संलग्न थुप्रै माननीय ज्युहरु संसदमा हुनुहुन्छ। तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाईएको छ। यही कुरा प्रकाश सपुत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु। सरकारको गम्भीर ध्यानाकर्षण होस्।'




‘गलबन्दी च्यातियो तिमीले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपुत र शान्तिश्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्दा लगाउने काम भएको भन्दै उनले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा भात्तृसंस्थामा आबद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसंग उल्ल्लेख गर्दै उनले भने, 'गाउँघरमा मेलापात जाँदा स्वतस्फुर्त गाउने भाका नै लोकभाका हो। सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु लज्जास्पद छ।'
'शुम्भु राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावले निच गाली गर्नुको साथै उनलाई हत्तोत्साही बनाउन लागी परेको देखिन्छ,' उनल भने, 'त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने र उनीहरुमाथि नीच ढंगको व्यवहार गरिएको हुनाले साईबर कानुन अन्तर्गत, जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन-२०६८ र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल काराबाहीको दायरामा ल्याउन माग गर्दछु।'
सांसद एकवाल मियाँले रेशम चौधरीलाई नेल लगाउने लाई भएको कारबाही बारे जानकारी माग गरे। दश वर्षे माओवादी आन्दोलनमा पनि सर्वसाधरण मारिएको उल्लेख गर्दे उनले कैलाली आन्दोलन पनि सोही प्रकृतिको भएको भन्दै ‘एउटा आन्दोलनकारी सिंहदरबार र अर्को जेलमा। यो कस्तो कानुन हो?’ उनको प्रश्न थियो।
सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक फिर्ता नभई खारेज प्रक्रियामा अघि बढाउने सरकारको ध्यानाकर्षण गराए। असार ४ गते माईतीघर मण्डलामा भएको कम्पनको जाँच र नाप अझै नसकिएको र अझै ठुलो दबाब कार्यक्रमको तयारी भईरहेको भन्दै उनले समयमै निर्णयमा पुग्न आग्रह गरेका थिए।
सांसद जीप छिरिङ लामाले संविधानमा समावेशी समानुपातिक रहेको प्रावधानलाई मिचेर प्रकाशित गरिएको लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरे। सरकारका संवैधानिक निकायलाई संविधानअनुसार चलाउन सरकारको ध्यानाकर्षण गराउदै उनले विज्ञापन खारेज नभए आन्दोलन चर्किने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।