काठमाडौं- महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थम माया थापाले ज्येष्ठ नागरिकसम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाइने बताएकी छिन्।
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकमा मन्त्री थापाले ससदीय समितिले दिएका उपयुक्त सुझावहरु समावेश गरी विधेयकलाई समृद्ध बनाउने बताएकी हुन्।
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै उनीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीउने वातावरण सृजना गर्नु राज्यको दायित्व भएकाले विधेयकलाई समय सापेक्ष संसोधन गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ।
विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले वृद्धवृद्धाले जीवनको उत्तरार्द्धको समय सम्मानित भएर बिताउनका लागि सम्पत्ति आफूखुसी प्रयोग गर्न पाउने र छोराछोरीलाई अनिवार्य दायित्व बहन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए। संशोधनकर्ताहरु प्रमिला राई र मिना सुब्बाले वृद्धवृद्धालाई बैकले पनि ऋण उपलब्ध नगराउने भएकाले वृद्धवृद्धाको उमेरको हद नराख्न सुझाव दिए।
उमेरहदका कारण चल/अचल सम्पत्ति चलाउन पनि समस्या पर्ने भन्दै उमेरको सीमा हटाउनुपर्नेमा उनीहरुको जोड थियो।
समिति सदस्यहरु लक्ष्मी परियार र बिमला विश्वकर्माले वृद्धवृद्धाहरुले जीवनको उत्तरार्द्धको समय अत्यन्तै अमानित भएर बिताउनु परिरहेको अवस्थामा वृद्धवृद्धाको स्याहारसुसारका लागि विशेष व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
समिति सदस्य परियारले हकाधिकार भित्रका छोराछोरीले नहेरे अरु कसैले हेर्न सक्ने र मृत्युपछि सम्पत्ति हकवालाले नभई हेरचाह गर्नेले नै पाउने व्यवस्था ऐनमा नै गरिनुपर्ने धारणा राखिन्।
त्यसैगरी समिति सदस्य बिमला विश्वकर्माले छोराछोरीले आफ्नो कमाईको १० प्रतिशत बाबुआमाको बैंक खातामा राख्नुपर्ने व्यवस्थाले नया पुस्तालाई वृद्धवृद्धालाई हेर्नुपर्छ भन्ने संस्कार पनि सिकाउने तर्क गरिन्।
अर्का संशोधनकर्ता दिव्यमणि राजभण्डारीले वृद्धवृद्धाले आफ्नो सम्पत्ति उनीहरुकै चाहानाअनुसार प्रयोग गर्न पाउने व्यवस्था गरिनुपर्ने मत राखे।
समितिले 'ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५' बारे संसोधनकर्ता र विभागिय मन्त्रीसँग छलफल गरेको हो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।