रोल्पा- उज्जल कुमार थापाले नेतृत्व गरेको विवेकशील नेपाली दलको राष्ट्रिय नीति सम्मेलन रोल्पामा हुने भएको छ। आषाढ १३ देखि १५ गतेसम्म सदरमुकाम लिवाङमा हुने सम्मेलनमा देशका ७ प्रदेश र विदेशमा रहेको समन्वय प्रदेश समेत गरी ८ प्रदेशका करिब ३ सय प्रतिनिधिको उपस्थिति हुने भएको छ।
'संघीयतापछि पनि राष्ट्रियस्तरका अधिकांश कार्यक्रम अझै काठमाडौं आसपासमै हुँदै आएकाले आफूहरुले संघीयता र विकेन्द्रीकरणको मर्म र भावनाअनुरुप नीति सम्मेलनका लागि रोल्पालाई रोजेका हौं,' नीति सम्मेलन तयारी समितिका संयोजक शिवप्रसाद थापाले भने।
पार्टीका प्रदेश ५ का संयोजक समेत रहेका थापाले गाउँमा जन्मे हुर्केर राजनीति गरेका नेताहरु सहर पसेपछि गाउँ बिर्सिंदै जाने परिपाटी देखिएकाले नेताहरुलाई गाउँ फर्केर राजनीति गर्न सन्देश दिने उद्देश्यले पनि सम्मेलनका लागि रोल्पा छनोट गरिएको स्पष्ट पारे।
'पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको भूमिका महत्वपूर्ण रहेकाले रोल्पालीसँग प्रत्यक्ष साक्षात्कार गर्ने रोल्पा सम्मेलनको अर्को उद्देश्य हो,' थापाले भने, 'शान्ति प्रक्रियापछि पनि रोल्पालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको औंल्याउँदै रोल्पा शान्त र सुरक्षित छ भन्ने सन्देश दिन पनि यहाँ सम्मेलन गर्न खोजिएको हो,' थापाले भने।
नीति सम्मेलनमा आधुनिक प्रविधिको उच्चतम प्रयोग हुने सो पार्टीका प्रदेश ५ का उपाध्यक्ष विनोद लामिछानेले जानकारी दिए। कार्यक्रममा प्रत्यक्ष सहभागी हुने बाहेक इन्टरनेटबाट प्रत्यक्ष जोडिने व्यवस्था गरिने लामिछानेले बताए। हाइ स्पिड इन्टरनेट जडान गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।
नीति सम्मेलन भएकाले धेरै भन्दा धेरै सदस्य र शुभेच्छुकहरुको मत तथा सुझावहरुलाई समेट्ने गरी व्यवस्था मिलाइएको लामिछानेको भनाइ छ।
इन्टरनेटको पहुँचबाट विदेशमा रहेका पार्टी सदस्य तथा शुभेच्छुकसमेत सम्मेलनमा जोडिने भएका छन्। 'विदेशमा रहेका नेपालीहरुको नोट चल्ने भोट नचल्ने भयो, यसलाई चिर्दै नोट र भोट चलाउने गरी यो प्रविधिबाट भोटिङमा समावेश गराउने योजनामा छौं,' उपाध्यक्ष थापाले भने।
सम्मेलन अवधिभर भिडियो लाइभमार्फत देश विदेशमा रहेका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुले पार्टीको नीति बारेमा छलफल गर्नेछन्। नीति सम्मेलनपछि पार्टीले आगामी असोजभित्र महाधिवेशन गर्ने बताएको छ।
रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीबाट अलग भएपछि उज्जलकुमार थापा नेतृत्वको सो पार्टीले रोल्पामा नीति सम्मेलन गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।