काठमाडौं- प्रकाश सपुतको लोकगीत 'गलबन्दी' विवादको विषय संसदमा उठेको छ। सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन्।
'एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन। गाउँघरमा, रोधीघरमा, मेलापातमा, गोठालामा स्वस्फूर्त गाउने भाका नै लोकभाका हो। यो न नक्कल हुन्छ न चोरी गरिन्छ,' सांसद विश्वकर्माले भने, 'यद्यपि प्रकाश सपुतले गाएको गीतको भाका कसैसँग मिल्दैन। शम्भु राईसँग त झन् मिल्दैन।'
सपुतको गीत आफ्नो गीतसँग मिलेको भन्दै गायक राईले कपीराइटको उजुरी दर्ता गराइसकेका छन्। सांसद विश्वकर्माले यसरी मुद्दा हाल्नु प्रतिष्ठित कलाकारका हिसाबमा लज्जाको विषय भएको बताए।
'राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभागका दृष्टिले गालीगलौज गरर्ने र हतोत्साही बनाउने काम गरिएको छ,' उनले भने, 'संविधान कानुनको बर्खिलाफ हुने गरी सिंगो दलित समुदायलाई जातीय अपमान गरिएको छ। त्यस्ता व्यक्तिहरुलाई साइबर कानुन अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन अन्तर्गत तत्काल कानुनी दायरामा ल्याउन माग गर्छु।'
कारबाहीको प्रक्रिया नथालिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रने पनि उनले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।