काठमाडौं- जर्मनी सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरेबापत ५ वटा कम्पनीलाई अनुदान दिएको छ।
वाणिज्य बैंकले सालिमार सिमेन्ट प्रालिलाई १ करोड रुपैयाँ, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपैयाँ, पञ्चकन्या स्टिल प्रालिलाई १३ लाख ९९ हजार १ सय २ रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ५ लाख ५० हजार ८ सय रुपैयाँ र बाग्मती आयल इन्डष्ट्रिजलाई १ लाख ६५ हजार ९ सय रुपैयाँ अनुदान दिएको हो।
यी कम्पनीले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको र स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग उपलब्ध गराइएको वाणिज्य बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे।
नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयन गरिरहेको छ।
यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।