काठमाडौं- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँगको भेटघाट बाक्लो बनाउँदै म्यानपावर व्यवसायीहरुले लबिङ सुरु गरेका छन्।
निर्वतमान श्रम मन्त्री गोकर्ण विष्टले गरेको मलेसिया रोजगारी बन्द, धरौटी वृद्धि लगायत प्रावधानदेखि तर्सिएका म्यानपावर व्यवसायीहरु नयाँ मन्त्रीलाई प्रभावमा पार्न लविङमा लागेका हुन्। नवनियुक्त मन्त्रीमाथि कसरी आफ्नो प्रभाव जमाउने भनेर मन्त्रालयमा व्यवसायीहरुको दौडधुप बाक्लिएको मन्त्रालय स्रोतले नेपाल लाईभलाई बतायो।
‘मन्त्रालयमा व्यवसायीहरुको चहलपहल बाक्लिएको छ, व्यवसायीहरु कसरी मन्त्री ज्यूलाई कसरी आफ्नो प्रभावमा पार्ने भन्ने दाउमा छन्’ स्रोतले भन्यो। आइतबार पनि उनीहरुले मन्त्री यादवसँग औपचारिक भेटघाट गरेका छन्। भेटघाटका क्रममा व्यवसायीहरुले आफूहरूसँग सहकार्य गरेर अगाडी बढ्न मन्त्री यादवलाई सुझाव दिएका छन्।
निर्वतमान मन्त्री गोकर्ण विष्टको कार्यकालमा म्यानपावर व्यवसाय डामाडोल भएको र रेमिट्यान्स समेत ओरालो लागेको उनीहरुको भनाइ थियो। कार्यक्रममा बोल्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रेले भने, ‘यहाँले कार्यभार सम्हाल्नु भएको छ, अब व्यवसायी र श्रमिकहरुको हकहितलाई ध्यानमा राखी अगाडि बढ्नु पर्छ।’
‘यस अघि मलेसिया रोजगारी बन्दले रेमिट्यान्स ओरालो लाग्यो, देशको अर्थतन्त्रमा ठूलो घाटा लाग्यो। जुन कारणले मलेसिया रोजगारी बन्द भयो‚ कुनै उपलब्धीबिना सोही कारण खुल्यो‚’ उनले भने। कार्यक्रममा बोल्दै संघका महासचिव सुजित कुमार श्रेष्ठले सरकारले म्यानपावरसँगका समस्या समाधानका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
‘कहिलेकाहीँ हाम्रो त्रुटि हुनसक्छ, त्रुटि भएमा मार्गदर्शन होस्‚’ महासचिव श्रेष्ठले भने। श्रम मन्त्री यादवले पुराना कुराहरु बिर्सेर नयाँ समझदारीका साथ अगाडि बढ्ने बताए। ‘अब बिगत बिर्सेर नयाँ समझदारीका साथ अगाडि बढ्नुपर्छ। तपाइँहरु र हामी एकअर्काका परिपुरक हौँ। एकलाई अर्काको आवश्यकता पर्दछ, मिलेर अगाडि बढ्नुपर्छ‚’ मन्त्री यादवले भने।
निर्वतमान श्रम मन्त्री गोकर्ण विष्ट मन्त्रालयबाट बहिर्गमन भएको भोलिपल्ट गत शुक्रबार म्यानपावर व्यवसायीहरुले धम्कीपूर्ण भाषामा सूचना जारी गरेका थिए। सूचनामा वैदेशिक रोजगार विभागले कुनै पनि निर्णय गर्दा आफूहरुसँग सहकार्य गरेर मात्रै गर्नुपर्ने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।