काठमाडौँ- दोस्रो चरणको छायाँकनमा गएसँगै ‘खुस्मा’ले आफ्नो रिलिज मिति तोकेको छ। निर्माणपक्षका अनुसार धीरज मगर तथा उपसना ठकुरी अभिनित सिनेमा असोज ३ गते नेपाल र डायस्पोरामा एकसाथ रिलिज हुनेछ।
गत माघमा मनाङमा पहिलो चरण छायाँकन गरेको सिनेमाको दोस्रो चरणको छायाँकन बिहीबारदेखि पूर्वी रुकुमको मैकोटमा सुरु भएको हो।
निर्देशक थापा मगरका अनुसार पुन मगरको उद्गमस्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा सिनेमाको बाँकी छायाँकन हुनेछ
सिनेमाले मगर समुदायको परिवेशमा जनयुद्धको पृष्ठभूमिमा अंकुराएको प्रेमकथालाई पर्दामा पेस गर्नेछ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको कथा निर्देशक थापा मगर आफैँले लेखेका हुन्।
सिनेमामा धीरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमाका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुन् भने सह-निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। मोहन राई सिनेमाको कार्यकारी निर्माता हुन्।
दीपक बज्राचार्यको छायाँकन रहने सिनेमामा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।