काठमाडौं- प्रदेश १ ले असोज १४ गते प्रथम पञ्चवर्षीय योजना २०७६/७७-२०८०/८१ सार्वजनिक गरेको छ।
प्रदेश योजना आयोग उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रथम आवधिक योजना सार्वजनिक गरेका हुन्।
योजनाको अन्तसम्ममा प्रदेशमा दोहोरो अंकको आर्थिक वृद्धिदर कायम हुने गरी काम गरिने उल्लेख गरेको छ भने प्रतिव्यक्ति आय १६२० अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ।
यस आवधिक योजनाले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय लक्ष्य हासिल गर्न 'स्वच्छ, सुखी र समुन्नत प्रदेश' भन्नाले दीर्घकालीन सोच लिएको छ।
योजनाले सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने समष्टिगत लक्ष्यसमेत लिएको छ।
उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गरी आय र मर्यादित रोजगारीका अवसरमा वृद्धि गर्नु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गुणात्मक सुधार गर्दै उन्नगत मानव संसाधन विकास एवं समता मूलक समाजको आधार निर्माण गर्ने जस्ता विषयलाई यो योजनाको समेटेको छ।
गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकास गर्नु, जलवायु अनुकूलन गर्दै वन, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण गर्नु जस्ता विषयलाई यस आवधिक योजनाको प्रमुख लक्ष्यका रुपमा लिईएको छ।
त्यसैगरी, सुशासनको अभिवृद्धि, युवा प्रतिभा विकास तथा उद्यमशीलता एवम् स्वरोजगारका अवसर सिर्जना गर्नुजस्ता महत्त्वपूर्ण क्षेत्रगत उद्देश्यहरू निर्धारण गरेको छ।
'स्वच्छ, सुखी र समुन्नत' प्रदेशको सोचलाई वास्तविकतामा हासिल गर्न सोहीअनुसार स्रोतको विन्यास गर्नु र सबै तह र तप्काका सरकार, निकाय र आमजनताको अपनत्त्वबपूर्ण सहभागितामा नतिजामूलक ढङ्गले कार्यसम्पादन गर्नु यस योजनाको कार्यनीतिक जिम्मेवारी रहेको छ।
यी लक्ष्य र उद्देश्य पूरा गर्न 'कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, लैङ्गिक समानता तथा समावेशी विकास सहितको न्यायपूर्ण समाज निर्माण गर्ने, शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवासुविधाको पहुँचमा विस्तार गर्ने, यातायात, विद्युत, सिँचाइ आदि रणनीतिक महत्त्वका पूर्वाधारहरूको विकास गर्नेजस्ता उद्देश्य लिएको छ।
योजनाको पूर्णपाठ
त्यसैगरी, वन, वातावरण, जैविक विविधताको विकास एवम् संरक्षण गर्ने, जलवायु परिवर्तन अनुकूलनता अभिवृद्धि एवम् प्रभावकारी विपद् व्यवस्थापन गर्ने, संघीयतालाई आवश्यक संरचनात्मक र संस्थागत सुदृढीकरण गर्दै सुशासन प्रवर्द्धन गर्ने, युवा क्षमता विकास र परिचालन गरी सामाजिक, आर्थिक क्षेत्रमा संलग्नता बढाउने'जस्ता महत्त्वपूर्ण ८ वटा रणनीतिक पथ निर्धारण गरिएको छ।
८ वटा रणनीतिक पथका आधारमा प्रदेश योजना आयोगले कार्यनीति र कार्यक्रम निर्धारण गरेको हो। योजनाको अन्त्यमा प्राप्त हुने नतिजालाई तहगत रूपमा स्पष्ट हुने गरी लजिकल फ्रेमवर्कमा प्रस्तुत गरिएको छ।
योजनाको अन्त्यसम्मम ९.७ प्रतिशत औसत वार्षिक आर्थिक वृद्धिदर पुर्याउने दाबी गरिएको छ।
कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर क्रमशः ५.७, १४.२ र १०.२ हुने अनुमान गरिएको छ।
विकासका प्रमुख परिमाणात्मक लक्ष्यतर्फ साक्षरता दर ९९ प्रतिशत, अपेक्षित आयु ७३.१ वर्ष, कालोपत्रे सडक ५ हजार किमी, विद्युतमा पहुँच भएको परिवार ९९.५ प्रतिशत पुर्याउने लक्ष्य योजनाले लिएको छ।
त्यसैगरी, भ्रष्टाचार अनुभूति सूचकाङ्क ३१ बाट ४१, बहुआयामिक गरिबी १९.७ प्रतिशतबाट १४ प्रतिशत, मानव विकास सूचकाङ्क ०.५०४ बाट ०.६०० पुर्याउने लक्ष्य राखिएको छ।
यस योजना कार्यान्वयनबाट प्रदेश अर्थतन्त्रको हालको संरचनामा परिवर्तन भई उद्योग २२ प्रतिशत र सेवा क्षेत्रको योगदान ४९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
योजना अवधिमा लगानी गर्नुपर्ने ९आर्थिक वर्ष २०७५/७६ को स्थिर मूल्यमा १४ खर्ब ४२ अर्ब ८ करोडमध्ये सरकारले ५ खर्ब ५७ अर्ब ७८ करोड, निजी क्षेत्रले ७ खर्ब ७६ अर्ब ५३ करोड, सहकारी क्षेत्रले ७९ अर्ब ३० करोड र सामुदायिक क्षेत्रले २८ अर्ब ४६ करोड लगानी हुने प्रक्षेपण रहको छ।
योजनाले दीर्घकालीन सोचका तीन मूल स्तम्भको रूपमा स्वच्छता, सुख र समुन्नलतिका चार-चार स्तम्भको पहिचान गरेको छ र त्यसैको अङ्गको रूपमा स्वच्छताका १०, सुखका २५ र समुन्न तिका ३१ सूचक पनि निर्धारण गरेको छ।
विकास निर्माणलाई व्यवस्थित गर्न मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश विकास समस्या समाधान उच्चस्तरीय समिति, मन्त्रीको नेतृत्वमा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति, स्रोत व्यवस्थापन गर्न अर्थमन्त्रीको नेतृत्वमा निर्देशक समिति र उच्चस्तरीय अनुगमन समितिको निर्माण गर्ने कुरा प्रदेश सरकारले निर्णय गरिसकेको छ।
इन्फोग्राफिक्स
केही फरक र विशेष कुराहरु पनि प्रदेशको योजनामा समाविष्ट छन्।
उदाहरणका लागि, उत्पादन/भण्डारण/प्रशोधन/बजारीकरण र ब्राण्डिङलाई एकै सूत्रमा राखेर उत्पादन अभिवृद्धिको नीति तर्जुमा गरिएको छ।
जलविद्युत योजनामा पिउने पानी, सिँचाइ सहितको बहुउद्देश्यीययोजनालाई प्राथमिकता दिइएको छ।
आधुनिक प्रविधि, अनुसन्धानमूलक, मूल्य श्रृंखलायुक्त र अग्रपृष्ठ सम्बन्ध भएका उद्योगलाई प्रोत्साहित गर्ने नीति बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।