रसुवा- एक महिनादेखि धुन्चे–रसुवागढी सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका स्याउ कुहिन थालको छ।
नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी हुँदै चीनबाट आयात गरिएका स्याउ, नास्पातीलगायतका फलफुल कुहिएर काम नलाग्ने अवस्थामा पुगेपछि व्यापारीले स्याउ खोलामा फालेका हुन्।
‘एक महिनादेखि सवारी आवतजावत हुन नसक्दा स्याउ नास्पाती कुहिन थालेको छ’ व्यापारी प्रभुराम देउजाले भने। कुहिएका स्याउ खोपाङभीरमा थुपारिएको छ। करोडौंको स्याउ, नासपाती कुहिन थालेसँगै धुन्चेस्थित खोपाङभीरमा फ्यालिएको उनले बताए। ‘बाटो अवरुद्ध भएको धेरै भयो, काठमाण्डौ लैजान लागिएको स्याउ कुहिएपछि त्रिशुली खोला फाल्नुपर्यो।’
स्याउ कुहिँदा करोडौं रकमको घाटा भएको छ। लामो समयसम्म कन्टेनरमा स्याउ राख्दा कुहिने क्रम बढ्दै गएको रसुवा सीमापार व्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङले बताए।
दशैका लागि लक्षित गरी ल्याउन लागिएका अन्य समाग्रीसमेत केरुङमा नै थन्काउन बाध्य भएको व्यापारीले बताएका छन्।
त्यस्तै अविरल बर्षासँगै तीन स्थानमा बाढीपहिरोले क्षति पुर्याएको सडक मर्मत सुरु गरिएको छ। पहिलो त्रिशुली खोलाको पहिरो हटाउने काम सुरु भएको छ। सडकमा झरेका ठूला ढुङ्गा व्लाष्टिङ गरेर सडक सुचारु गर्न अझै दुई साता लाग्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।