नेपालगन्ज– मन्त्रिपरिषद्को बैठकले कोहलपुर धामपुर क्षेत्रमा ३३ केभी विद्युत प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै बाँकेको नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा विद्युत लाइन विस्तार कार्यले गति लिने भएको छ।
बाँकेको कोहलपुरस्थित सवस्टेशन देखि राप्ती सोनारी गाउँपालिकाको धामपुरसम्मको क्षेत्रमा पर्ने साढे ५ किलोमिटर वन क्षेत्रमा पर्ने २ सय १२ वटा रुखहरु काट्नका लागि साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै लामो समयदेखि रोकिएको विद्युत लाइन विस्तारको काम पुन सुरु हुने भएको हो।
विद्युतीय लाइन विस्तार गर्न वन क्षेत्रको प्रयोगका लागि आवश्यक कानुनी प्रकृयाहरु पुरा नहुँदा बाँकेको नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र राप्ती सोनारी गाउँपालिकाको करिब आधा क्षेत्रका करिब ६० हजार जनता विद्युत सेवाबाट वन्चित हुँदै आएका थिए।
९ वर्ष पहिलेदेखि नै विद्युत लाइन विस्तारको काम सुरु भए पनि वन क्षेत्रमा हरेका रुखहरु काट्नका लागि आवश्यक पर्ने कानुनी प्रकृयाहरु पुरा गर्न नसक्दा रोकिएको थियो।
२०६६ सालदेखि सामुदायिक विद्युतिकरण आयोजना अन्र्तगत नेपाल सरकारको ८० प्रतिशत र उपभोक्ताहरुको २० प्रतिशत लागतमा विद्युतीय सेवा विस्तारको काम सुरु गरिएको थियो।
राप्ती सोनारी र नरैनापुरमा विद्युत लाइन विस्तारका लागि धामपुरमा सवस्टेशन निर्माण गर्ने, नरैनापुर र राप्ती सोनारीका गाउँहरुमा पोलहरु गाड्ने तथा तार तान्ने काम भइरहेको छ।
कोहलपुरदेखि र धामपुरसम्म विद्युत सेवालाई विस्तारका लागि वन क्षेत्रमा रहेका रुखहरु कटान गरी प्रशारण लाइन निर्माण गर्ने कामलाई तिब्र गतिमा अगाडि बढाउनु पर्ने विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मनोज सिंहले बताए।
‘सवस्टेशन निर्माणको काम ९० प्रतिशत पुरा भएको तथा ट्रान्सफर्मर खरिद गरी जडान गर्ने प्रकृयामा रहेको छ। विद्युतको पोल गाड्ने काम ८० प्रतिशत पुरा भइसकेको छ।’, प्रमुख सिंहले बताए। उनले वन क्षेत्रमा पर्ने रुखहरु छिट्टै काटेर प्रशारण लाइन विस्तारको काम सुर गर्ने जानकारी दिए।
विद्युत लाइन विस्तारका लागि बजेटको अभाव नहुने आश्वासन उर्जामन्त्रीबाट प्राप्त भएकोले अब केही महिनाभित्रै विद्युत सेवा राप्ती सोनारी र नरैनापुरका गाउँबस्तीहरुमा पुग्ने बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकले दावी गरे।
२०५६ सालको आम निर्वाचनभन्दा पहिले विद्युतिकरण गर्ने आश्वासन दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रेम बहादुर भन्डारीको अगुवाइमा विद्युतका पोलहरु गाडिएको थियो।
विद्युतको पोल गाडिएको करिब २० वर्षसम्म हरेक निर्वाचनमा विद्युतिकरणको नाममा नै नेताहरुले चुनाब जित्दै आएका थिए। २० वर्ष पहिले गाडिएका पोल तार नटांग्दै जिर्ण भएपछि नया पोल गाडेर लाइन बिस्तारको काम अगाडि बढाइएको छ।
यसपालि भने विद्युत सेवा पुग्ने आशा बढेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।