काठमाडौं– व्यवसायको आवरणमा नेपालमा इसाई धर्मको प्रचारमा संलग्न दुई विदेशीलाई अध्यागमन विभागले पक्राउ गरी निष्कासन गरेको छ।
अध्यागमन विभागले शुक्रबार राति इन्डोनेसियाकी रीता गोंगा र उनका श्रीमान् दी भेरा रिचार्डको भिसा रद्द गरी निष्कासन गरेको हो।
सिंगापुरका नागरिक यो क्वान छेङले ललितपुरको पुल्चोकमा सञ्चालन गरेको सिङ्ग–मा फुड कोर्ट प्रालि नामक रेस्टुरेन्टका नाममा उनीहरुले बिजनेस भिसा पाएका थिए। तर, भिसाको प्रयोजन विपरीत उनीहरुले कुमारीपाटीमा ‘एभ्री नेसन चर्च’ चलाउँदै आएका थिए।
सम्बन्धित समाचार: बिजनेस भिसा, धर्मको व्यापार
बिजेनस भिसामा उनीहरुले चर्च चलाएको सम्बन्धी समाचार नेपाल लाइभले प्रकाशन गरेको थियो।
छानबिनका क्रममा उनीहरु नेपालमा धर्म प्रचारमा संलग्न प्रमाण भेटिएपछि विभागले निष्कासन गरेको हो। उनीहरु पादरी भएको र धर्म प्रचारकै उद्देश्यले नेपालमा आएको विभागको निष्कर्ष छ।
नेपालको संविधानले दबाव तथा प्रभावमा धर्म परिवर्तनलाई अपराध मानेको छ। अध्यागमन विभागले छानबिन गर्दा उनीहरुले बिजनेस भिसामा बसेर नेपालमा धर्म परिवर्तन गराउँदै आएको खुलेको थियो। उनीहरुलाई १०÷१० हजार रुपैयाँ जरिवाना तिराएर उनीहरुलाई निष्कासन गरिएको विभाग स्रोतले जनाएको छ।
नेपालमा ठूलो संख्यामा विदेशीहरु बिजनेस भिसा लिएर चर्च खोलेर बसेका छन्।
सरकारले विदेशी नागरिकमाथि अनुगमनका लागि हालै ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७५’ बनाएको छ। निर्देशिका बनाएसँगै सरकारले नेपालमा भिसाको प्रयोजन विपरीत बस्दै आएका विदेशीहरुमाथि निगरानी बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।