निपा भाइरस नेपालमा संक्रमण हुने सम्भावना कति?

 डा शेरबहादुर पुन

Nepal Live

हुनत यो प्रश्न गर्न नपाउँदै धेरैले छैन वा प्रमाणित भएको छैन भन्ने उत्तर दिनेछन्, जुन अस्वाभाविक पनि होइन। तर यसलाई यसरी पनि सोचौँ। 

यो भाइरस मलेसियामा पहिलोपटक सन् १९९८ तिर थाहा भएको, सुंगुरको प्रतक्ष्य सम्पर्कमा आहेका (खासगरी किसानहरु) वा आउनेलाई सरेको, छिमेकी देशहरु बंगलादेश र भारतमा केही वर्षहरुको अन्तरालमा देखा पर्दै आएको र सबैभन्दा महत्पूर्ण कुरा निपा भाइरस फैलाउने टेरोपस (Pteropus) जातको चमेरा हाम्रो देश नेपालमा पनि पाइने तथ्यहरु हामीमाझ छन्। अझ सन् २०१५ मा अमेरिका, बेलायत र नेपालका कृषि वैज्ञानिकहरुको समुहले गरेको अनुसन्धानले काठमाडौँ र चितवनलगायतका जिल्लाहरुमा रहेका सुंगुरमा निपा भाइरस संक्रमित हुने सम्भावना प्रबल रहेको निक्र्यौल निकाल्नुले हामी ढुक्क हुने अवस्था भने छैन। 

नेपालमा भारतबाट कति संख्यामा जिउँदो सु‌ंगुरको आयात हुन्छ त्यो पनि रोग भित्रिने मुख्य आधार हो। त्यस्तै नेपालमा २०७१ साल भदौतिर मोरङ जिल्लाको तत्कालिन लेतांग र पथरी गाविसमा ६ जना बिरामीमध्ये ४ जनाको मृत्यु (६६ प्रतिशत मृत्युदर) हुनु र रोग नियन्त्रण महाशाखाले त्यसबेला निपा भाइरस हुनसक्ने भनि अध्ययन अगाडी बढाएको सूचना सार्वजनिक भएको थियो। यद्यपी यसको अध्ययन कहाँ पुग्यो थाहा छैन।

माथि उल्लेखित पृष्ठभूमिलाई आधार मान्ने हो भने हामी पक्कै जोखिममा छौँ। सर्वसाधारण मात्र नभइ स्वास्थकर्मीहरु पनि उत्तिकै जोखिममा छन्। मंगलबार मात्र भारतमा एक नर्सको मृत्यु भएको छ। जो निपा भाइरस संक्रमित बिरामीहरुको उपचारमा खटिँदा आफै संक्रमित भएको पुष्टि भएको छ। यो घटनाले हामीहरुलाई खासगरी सरुवा रोगको उपचारमा संलग्न चिकित्सक, किसान तथा सर्वसाधारण जो कोही जुन समयमा पनि चनाखो हुनुपर्ने र सुरक्षित रुपमा बच्न सकिने पूर्व तयारीहरुका उपायहरु अपनाउनु पर्ने देखिन्छ। रोगको निदानका लागि आवश्यक उच्चस्तरको सुरक्षित प्रयोगशाला र दक्ष जनशक्ति सँधै तयारी अवस्थामा हुनुपर्ने समेत देखिन्छ।

अर्को प्रश्न नेपालमा भएको भए त अहिलेसम्म धेरै मानिसहरुको मृत्यु हुनुपर्ने वा भारतमा जस्तो प्रकोपको रुप किन नलिएको भनिएला। तर प्रकोप वा रोगका हकमा कुनै पनि स्थान वा समयमा आंशिक रुपमा रहेछ भनेपनि केही वर्षको अन्तरालमा कुनैपनि समयमा अचानक प्रकोपको रुपमा देखिने गरेको उदाहरणहरु पाइन्छन्। अथवा नेपालमा कहिले पनि आउँदैन भनेर ढुक्क हुने बलियो आधार पनि देखिदैन। 

माथि उल्लेख गरेका प्रमाणहरुलाई आधार मान्ने हो भने नेपालमा यो भाइरसको उपस्थितिको शंका गर्न सकिन्छ। तर पूर्णरुपमा निदान गर्न भने प्रयोगशालामा प्रमाणित गर्न जरुरी हुन्छ र यसको लागि अनुसन्धान गर्नुको गर्नुको विकल्प छैन। कहिले रोग आउला र निदान गरौँला भनि कुरेर बस्ने हो भने मानवीय क्षति बेहोर्नुपर्ने अनिवार्य जस्तो देखिन्छ। किनभने धेरै संक्रमित व्यक्तिहरु २४ देखि ४८ घण्टा भित्रमा वहोश भइ मृत्यु समेत हुने र यसको मृत्युदर हाल अफ्रिकी देशहरुमा देखिरहेको इबोला भाइरस भन्दा पनि अत्यधिक (झन्डै ७० प्रतिशतभन्दा बढी) देखिन्छ। 

यस्तो अवस्थामा रोगको संक्रमण फैलिहालेमा नियन्त्रण गर्न कठिन हुनेछ। किनेभने हामीसँग पूर्वयोजनाको अभाव, अपुग जनशक्ति र कमजोर भौतिक पुर्वाधारहरु अर्थात द्रुतगतिमा सर्ने रोगहरुको छुट्टै उपचार गर्ने कक्षहरुको अभाव मुख्य समस्याहरु व्याप्त छन्।

(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्राप्त प्रतिकृयाहरू

Murari dhungel
अति आवश्यक जानकारी।डॱ पुन तथा हाम्रो पात्रो प्रति आभारी ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार