एजेन्सी–हमासले मध्यस्थकर्ता मुलुकहरु कतार र इजिप्टद्वारा प्रस्तुत युद्धविराम प्रस्ताव स्वीकार गरेको जनाएको छ । हमासका नेता इस्माइल हानियेहले प्रस्तावप्रति सर्मथन जनाएका हुन् ।
तर इजरायलले भने प्रस्ताव अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रस्ताव आफ्ना मागबाट टाढा रहेको जनाएका हुन् । तर, शान्ति वार्ताका लागि आफ्नो टोली कायरो पठाउने उनको भनाइ छ ।
शान्ति वार्ता चलिरहेका बेला इजरायलले गाजाको रफाहमा कारबाही जारी राख्ने जनाएको छ । इजरायली सेनाले रफाह सहरको पूर्वी क्षेत्रका बासिन्दालाई तत्काल सो क्षेत्र खाली गर्न आदेश दिएको छ ।
इजरायली सेनाले विमानमार्फत रातो र नीलो रङका पर्चा छरेर कारबाही सुरु हुनुअघि नै त्यस क्षेत्र छाड्न आदेश दिएको हो । इजरायली रक्षामन्त्रीले गाजामा रहेका आफ्ना सेनालाई निकट भविष्यमै रफाह सहरमा तीव्र कारबाहीको तयारी गर्न भनेको दोस्रो दिन नै सेनाले त्यहाँका नागरिकलाई अन्यत्र जान भनेको हो । रफाह सहरमा करिब १५ लाख प्यालेस्टिनीले शरण लिइरहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।