काठमाडौं– ‘मलाई नयाँ शब्दहरु औधी मन पर्छन्। नेपाली भाषिकाका शब्दहरु खोज्न रुचाउँछु’, कार्यक्रमको सुरुवातमै कविता वाचनका लागि उद्घोषकले आग्रह गरेपछि कवि प्रसन्न घिमिरेले पुस्तकको नामको बारेमा खुल्दुली मेटाउँदै भने, ‘मिझोर शब्द पश्चिम नेपालका मगरहरुले अभिवादनको लागि प्रयोग गर्छन्।’
कार्यक्रम थियो कविता संग्रह 'मिझोर'को विमोचन र अन्तरसम्वाद। समीक्षक शेखर खरेलसँगै उनले पुस्तकको विमोचन गरे। घिमिरेले ‘एक पटक’ कविता वाचन गरेपछि कार्यक्रमले रफ्तार लियो।
खरेलले भने, ‘कविताको क्षेत्र फराकिलो छ। कवितामा एउटा मात्रै दृष्टिकोण दिन सकिँदैन। किनकि यो धेरै विषयसँग जोडिएको हुन्छ।’ कवि घिमिरेको ‘बर्सातमा नेपालगञ्ज’ कविताको उदाहरण दिँदै खरेले भने, ‘यो कविता पढ्दा म असाध्यै छोइएँ।’
‘सुकर्म’ ब्यान्डको कार्यक्रममा गैँडाकोटमा खरेलसँग भएको पहिलो भेटदेखि कविता लेखनलाई लिएर आफ्ना ठूलोबुवा राष्ट्रकवि माधवप्रसाद घिमिरेले चिनाइदिएको घटनासम्मका आफ्ना स्मृतिलाई घिमिरेले ताजा बनाए। यसबीचमा उनले मौनता शीर्षकको कविता पनि सुनाउन भ्याए।
‘मौनता मेरो रुचिको विषय हो। हामी मौन रहँदैनौँ, कहिले चाहेर त कहिले नजानेर पनि। तलाउमा आफ्नै छाया हेर्न पनि मौनता नै आवश्यक पर्छ। यदि तलाउमा केही वस्तु खसालियो र तरंग पैदा भयो भने दृश्य वा छाया धमिलो हुन्छ। त्यसकारण तलाउको सहायताले मौनताको बारेमा बुझ्नका लागि पनि यो कविता लेखेको हुँ’, कवि घिमिरे कविता सुनाउँदै त्यसको रचनागर्भ समेत जोडे, 'गाइने दाइ’ 8को एक किनारीकृत पात्रलाई केन्द्रमा राखेर यो कविता लेखेको हुँ।'
विज्ञानसम्मत कथाहरुलाई कविताको दायरामा ल्याउँदै तर्क र तर्कना दुवै समेट्न कवि घिमिरे सफल भएको धारणा राखे खरेलले। ‘संग्रहमा भएका कविताले सम्बन्धका बारेमा पनि आवाज दिएका छन्। कतिपयले छुटिगएका र साथमै भएका त कतिपयले साथमै भएर पनि आफ्नो नभएका सम्बन्धहरुको आयाम बोकेको पाएँ’, उनले थपे, ‘मानौं, धेरै छुटिसकेको छ। फूल कसैले टिपेर लगिसक्यो तर त्यसको केही बास्ना बाँकी छ। कोही हिँडेर पर पुगिसक्यो तर पैतालाका डोब बाँकी छन्। यसरी नै कवितामा स्मृतिहरुको दोस्रो खण्ड यानेकि ख्याल नगरिने खण्ड अनुभूत हुनेगरी आएको छ।’
‘काश्मिर’ कविता पढ्दा कवि आफै सो स्थानमा पुगेर लेखेको अनुभूति भएको खरेलले बताइरहँदा कवि प्रसन्न बीचमै जोडिए, ‘काश्मिर र सिरियाको पीडा हामीले देख्न पाएका छैनौँ तर मिडियाले हामीलाई त्यहाँका दृश्यहरु देखाइदिएर अनुभूत गर्न सजिलो बनाइदिएको छ। नेपालमा त्यस्तो घटना नघटोस् भन्ने इच्छा नै यस कवितामार्फत जाहेर गरेको छु।’
बीचबीचमा दर्शकहरुको खस्याकखुसुक सुनिन थालेपछि कवि घिमिरे बुझेझैं गर्थे कविता सुनाउँथे। उनले कारण, आधा, कथामा एक चिया दोकान तथा कार्यक्रममा उपस्थित भएकी आफ्नी भतिजीलाई नै सम्झिएर लेखेको कविता ‘नर्सरी’ उनैलाई समर्पित गर्दै सुनाए।
अन्तरसम्वादको करिब–करिब अन्तिम खण्डतिर खरेल वक्ता कम प्रश्नकर्ताको भूमिकामा बढी आफूलाई उभ्याइरहेका थिए। यस्तो लाग्थ्यो कि उनी कविलाई बुझ्न चाहन्छन्, अनि उनको कविता कर्मलाई बुझ्न पनि उत्तिकै लालायित छन्। अन्य कविहरुजस्तो तपाईं त्यति बाहिर देखिनुभएन नि? भन्ने खरेलको प्रश्नमा घिमिरे जवाफ दिन्छन्, ‘जीवनका आयामहरुको समग्र दृश्य मेरो आँखामा पर्न/छापिन तलाउजस्तो हुनुपर्दो रहेछ। त्यसैले कविले मौनतामा गएन भने कविता लेख्न सक्दैन। यदि मौनतामा नरहेको भए म यस्तो हुने थिइन।’
पछिल्लो समयको कविताको बजारलाई इंगित गर्दै उनले थपे, ‘अहिलेको मनोविज्ञान मौनतालाई थिच्दै हल्लालाई बढावा दिने खालको छ। त्यसकारण मलाई बाहिर नदेख्नु भएको हो।’
रचनात्मक कार्य गर्ने जुनसुकै क्षेत्रका व्यक्तिहरुबीचमा नदेखिने सम्बन्ध रहने बताउँदै खरेलले पछिल्लो समय कविताकर्ममा सहकार्य र परिमार्जन कम हुने गरेको औँल्याए। अहिले लेखिएका धेरै कवितामा विचार तथा राजनीतिका नाममा आक्रोश पनि सँगसँगै जोडिएर आएको भूमिका बाँध्दै खरेलले घिमिरेमाथि प्रश्न गरे, ‘राम्रो कविता हुन कस्तो हुनुपर्छ मलाई थाहा छैन तर कवितामा आक्रोश कत्तिको जरुरी छ?’
लाउड कविता मन पर्ने भन्दै उनले कविताबाट आफूले शान्तपूर्ण आक्रोश पाउने सुनाए। 'मैले राजनीतिका कविता पनि लेखेको छु तर मैले मेरो स्वाभाव लाउड बनाउन नचाहेको मात्रै हुँ,' ‘र निशब्द’ र ‘एकात्म’ (संयुक्त कविता संग्रह) प्रकाशन गरिसकेका उनले भने, 'पुराना स्रष्टाका कविता पढेँ तर उहाँहरुका कवितामा कहाँनेर र कस्तो तरिकाले कविता लेख्न छुटेको छ त भन्ने अध्ययन गरेर मैले यस्ता कविता लेख्न थालेको हुँ।’
अन्तिम चरणका कविता सुनाउनुअघि उनले भने, ‘मिडियामा आफूले खोजेका जस्ता कविता भेटाइनँ। त्यसैले खाली ठाउँ भर्न मात्र कविता लेखेको हुँ।’
अन्तिममा ‘प्वाँख’ र आफूलाई विशेष मन पर्ने कविता ‘सान्त्वना’ सुनाएर कवि घिमिरे वाचन र सम्वादको सिलसिलाबाट बाहिरिए।
मिझोरलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।