भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन्। मुख्यमन्त्री भएपछि पहिलो पटक विमानस्थल निरीक्षणमा निस्किएका पोखरेलले आगामी एक वर्षभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति थप गरेर भए पनि समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिएका हुन्।
सांसद र सरकारी अधिकारीसहित आइतबार साँझ अनुगमनमा निस्किएका पोखलेललाई आयोजना प्रमुख इन्जिनियर ओम शर्माले विमानस्थल निर्माणको विस्तृत विवरण प्रस्तुत गरेका थिए। प्रमुख शर्माले आफ्नै कार्यकक्षमा थ्रिडीको माध्ययमबाट तयार पारिएको आयोजनाको हाल सम्मको प्रगति प्रस्तुत गरेका थिए। सो अवसरमा मुख्यमन्त्री पोखरेलले विमानस्थलको समग्र स्थितिबारे पटकपटक जानकारी लिएका थिए।
त्यसपछि मुख्यमन्त्री पोखरेलले विमानस्थल निर्माणको भौतिक प्रगतिको निरीक्षण गरेका थिए। मुख्यमन्त्री पोखरेल सहितको टोलीले विमास्थलको अनतर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, रन वे, प्रशासनिक भवन, विमान सेफ्टी एरिया लगायत स्थानको स्थलगत निरीक्षण गरेको थियो।
विमानस्थल आयोजनाका प्रमुख शर्माले पछिल्लो पटक समय तालिका अनुसार काम भइरहेको जानकारी गराएका थिए। उनले मुख्यमन्त्री पोखरेललाई बिफ्रिङ गर्दै सन् २०१९ को मध्यतिर निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको बताए। हाल विमानस्थलमा टर्मिनल भवन, धावनमार्ग, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायतको काम द्रुत गतिमा भइरहेको छ।
वर्षाअघि धावनमार्गको पिच गर्नुअघिको र टर्मिनल भवनको छाना हाल्नुअघिको काम सम्पन्न हुने आयोजना प्रमुख शर्माले बताए। यी दुई वटा काम पूर्ण रुपमा सम्पन्न भए विमानस्थललाई अपरेसनमा ल्याउने बताए। विगतमा विमानस्थलको काम सुस्त गतिमा भए पनि चिनियाँ कम्पनीले चीनबाट नै कामदार ल्याएर द्रुतत गतिमा काम जारी राखेको आयोजनाले जनाएको छ।
आयोजनाले सन् २०१९ साललाई अपरेसन वर्षको रुपमा लिएर काम जारी राखेको छ।
माटोको समस्या पर्यो : आयोजना
विमानस्थलको निरीक्षण गराउँदै आयोजना प्रमुख शर्माले मुख्यमन्त्री सहितको टोलीसँग मुआब्जाको रकम र माटोको समस्याबारे जानकारी गराएका थिए। उनले मुआब्जाको रकम केन्द्र सरकारले विनियोजन गरेर पठाउने भए पनि माटोको समस्या समाधानका लागि प्रदेश सरकारले समाधान निकालिदिन आग्रह गरेका थिए।
मुख्यमन्त्री पोखरेलले माटोको अभावकै कारण आयोजनाको काममा ढिलाइ नगर्न निर्देशन दिँदै माटोको पर्याप्त व्यवस्थाका लागि आफूहरुले सहयोग गर्ने बताए। उनले अनुगमनमा सँगै रहेका सोही क्षेत्रका प्रदेशसभा सदस्य सन्तोष पोण्डेलाई जनतालाई पोखरी खन्न प्रेरित गर्न आग्रह गर्दै पोखरी खनेर माटो विमानस्थल निर्माणका लागि दिने, पोखरीमा माछा पाल्नका लागि किसानलाई केही अनुदानको व्यवस्था गर्न सकिने बताए।
मुख्यमन्त्री पोखरेलले विमानस्थल निर्माणका लागि योगदान दिएका स्थानीयलाई साथमा लिएर अगाडि बढ्न पनि निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।