काठमाडौं- सोमबार बुद्धनगरस्थित धोबिखोलामा एक जना महिला डोजर चलाइरहेकी भेटिइन्।
नजिकै वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीका नाममा ठगिएका युवाहरुको खचाखच भीड लागिरहेको थियो।
यो दृश्य नियालिरहेका केही बुढापाका मानिस भनिरहेका थिए, ‘नेपालमा काम नभएर होइन, काम गर्न लाज मानेर युवा विदेश जान्छन्, र यसरी दुःख पाउँछन्। यी नानी जस्तै हिम्मत हुनुपर्छ देशमै काम गर्न त।’
डोजर चलाइरहेकी महिला हुन् गोरखा जिल्ला भिमसेन गाउँपालिकाकी मुना घिमिरे (श्रेष्ठ)।
पुरुष सरह महिलाहरुले हेभी इक्विप्मेन्ट चलाउन सक्दैनन् भन्ने मानसिकतालाई मुनाले चिरिदिएकी छन्। २०५६ सालदेखि एक्साभेटर चलाउन थालेकी मुनालाई आफ्नो कामसँग गर्व लाग्छ।
‘एक्साभेटर चलाउन थालेको २० वर्ष भइसक्यो, म त्यतिबेला १७ वर्षकी थिएँ,’ उनले सुनाइन्। उमेर सानै भएपनि परिस्थितिले उनलाई परिपक्क बनाइसकेको थियो।
‘मानिसहरु अचम्म मानेर हेरिरहन्छन्। कतिले त तपाइँलाई गाह्रो हुँदैन भनेर पनि सोध्छन्। यसरी मेरो कामलाई सबैले अचम्म मानेर हेर्दा झन् झन् काम गर्न जोस् बढेर आउँछ। हामी महिला पनि पुरुषभन्दा के कमर?’ मुना मुस्कुराउँछिन्।
हिम्मतले बनाएको एक्साभेटर अप्रेटर
सामान्य परिवारमा जन्मिएकी मुनाका परिवारमा आमाबुबा र दुई दिदी बहिनी मात्रै हुन्।
मुनाका आमाबुबाबाट छोरा नभएपछि गाउँका मानिसले उनीहरुलाई हेप्ने र होच्याउने गर्थे। सानै बेलादेखि तिमीहरुका छोरा छैनन्, यी छोरीहरु अर्काको घरमा गइहाल्छन् तिमीहरुलाई कस्ले हेर्छ भनेर मानिसहरुले आमाबुबालाई भनेको सुन्दा चस्स बिझाउँथ्यो मुनालाई।
.JPG)
‘लैङ्गिक आधारमा छोरी भएर जन्मिए पनि छोराले जस्तै काम गर्न हिम्मत आट्नुु थियो। म पनि छोरा मान्छेभन्दा के कम’ गर्वका साथ सुनाउँछिन् मुना। त्यति बेलैदेखि उनलाई आफू पनि छोरा मानिस जसरी नै काम गर्ने हिम्मत जुट्दै गयो।
‘म पनि छोराजस्तै बनेर सबैलाई देखाउँछु, छोराले जसरी नै आमाबुबालाई पाल्छु भन्ने सोच भएपछि मनमा हिम्मतको विकास हुँदै गयो,’ मुना सुनाउँछिन्।
९ कक्षामा पढ्दापढ्दै पढाइ छाडेर उनी रोजगारीका लागि गाउँबाट नेपालगञ्ज तर्फ लागिन्। नेपालगञ्जमा उनले धेरै हेभी इक्विप्मेन्ट देखिन्। उनलाई हेभी इक्विप्मेन्ट देख्दा नै लाग्थ्यो मानिस ले कसरी चलाएका होलान्, सिकेँ भने मैले पनि सक्छु होला।
विस्तारै एक्साभेटर (डोजर) चलाउने रहर विकास हुँदै थियो। त्यस्तै हेभी इक्विप्मेन्टहरुको मेसिन बेच्न राखिने कम्पनीमा उनले काम पाइन्। उनी डोजर चलाएको, गुडेको नियाली रहेकी हुन्थिन्, यो देखेपछि उनी कार्यरत कम्पनीका मालिकले मुनालाई भने, ‘ तिमी पनि डोजर चलाउन सिक्छ्यौँ?’
‘डोजर चलाउने रहर त पहिले नै लागिसकेकोे थियो तर पहिलो दिन सोध्दा केही पनि बोलिनँ,’ मुना सुनाउँछिन्।
भोलिपल्ट पनि कम्पनीका म्यानेजरले उनलाई त्यसै गरी सोधे, मुनाले हिम्मत गरिन्, र आफूलाई डोजर चलाउने रहर भएको बताइन्। त्यसपछि सोही कम्पनीमा काम गर्दै बाँकी समयमा उनले डोजर चलाउन सिक्न थालिन्।
पहिलो एक्साभेटर अप्रेटर भन्दा..
मुनाभन्दा अगाडी नेपालमा महिलाले एक्साभेटर चलाउने हिम्मत गरेका सायद कोही पनि महिला थिएनन्। ०५६ सालदेखि एक्साभेटर चलाउन थालेकी मुना नै नेपालको पहिलो एक्साभेटर चालक भएको उनको दाबी छ।
.JPG)
‘डोजर चलाएको हेर्ने मान्छेहरुको निकै भीड लाग्थ्यो, मैले डोजर चलाएको देखेपछि अन्तरवार्ताका लागि मिडियाका क्यामेरा पनि बाक्लिन थाले। झन् झ्न खुसी बाक्लिन थाल्यो,’ मुना खुसी साट्छिन्।
'डोजर चलाउने पहिलो महिला हुने हिम्मतकै कारण सम्मान, र प्रशंसा पनि पाइयो। आफ्नो कामप्रतिको लगाव, आत्मसन्तुष्टि र आम मानिसले गर्ने गरेको प्रशंसाबाट मुनालाई सबैभन्दा बढी खुसी मिल्छ,' उनले भनिन्।
चुनौतीमाथि कामको विजय
१७ वर्षको उमेरदेखि डोजर चलाउन थालेकी मुनाले २१ वर्षको उमेरमा गोरखामै विवाह गरिन्।
‘महिला भएर पनि के डोजर चलाउनु, छाड् त्यो काम भनेर कतिले आत्मबल गिराउन खोजे। तर मैले कसैको कुरा सुनिनँ, आफ्नो अडिग यसैमा राखेँ,’ मुना सुनाउँछिन्। ‘काम गर्न पनि महिला र पुरुष भनेर छुट्याइराख्नु पर्छ र?’ समाजलाई प्रश्न तेस्र्याउँछिन् मुना।
आफूले डोजर चलाउन हिम्मत गर्दागर्दै पनि थुप्रै चुनौती सामना गर्नुपर्यो उनले।
.JPG)
तर विवाहपछि काठमाडौं आएकी उनी काठमाडौंस्थित तेज कस्ट्रक्सनबाट व्यवसायिक रुपमा नै डोजर चलाउन सुरु गरिन्।
श्रीमानलाई हेभी इक्विप्मेन्ट व्यवसायी बन्न प्रेरित गरेँ
आफू डोजर चलाउँदै मुनाले आफ्ना श्रीमानलाई पनि डोजर चलाउन सिकाइन्। बिस्तारै हेभी इक्विप्मेन्टसम्बन्धी आवश्यक पार्टपुर्जाकै व्यवसाय गर्न श्रीमानलाई प्रेरित गरिन्।
‘म मेरो कामलाई निरन्तरता दिईरहेकी छु। श्रीमान् डोजर चलाउन पनि मैले नै सिकाएँ। अहिले व्यवसाय गर्नुहुन्छ। जिन्दगी राम्रोसँग चलिरहेको छ।’
सिनियर अप्रेटर बन्दाको खुसी
कक्षा ९ मा अध्ययन गर्दागर्दै नेपालगन्ज हिडेकी मुनाको जीवनमा जिम्मेवारीले थिच्दै गयो। विस्तारै मुनालाई फेरि पनि आफ्नो बिचैमा छोडिएको पढाइलाई अगाडी बढाउन मन लाग्यो।
२०६८ सालमा उनी काठमाडौं कलंकीस्थित जनसेवा वैकल्पिक माध्यमिक विद्यालयमा भर्ना भइन्। एसएलसी परीक्षा दिइन्। सानैदेखि पढाइ पनि राम्रो भएकाले उनले एसएलसी पास गरिन्।
२०७२ सालमा उनले १२ कक्षासम्मको अध्ययन पनि सकिन्। त्यसपछि सिनियर अप्रेटर (सुब्बा लेभल) मा नाम निकाल्न सफल भइन् मुना। त्यो नै जिन्दगीको सबैभन्दा खुसी थियो मुनाको। तर त्यो खुशीलाई अर्कै दुःखले थिच्यो।
‘म सरकारी जागिरे पनि भएँ, आमा पनि बित्नु भयो,’ मुना सुनाउँछिन्। आफू सरकारी जागिरे भएपछि छोराले जस्तै आमाबुबा पाल्ने सपना देखेकी मुनाको त्यो सपना भने पूरा भएन।
सरकारी जागिरपछि आमाबुबा दुबै जना नै बित्नु भयो। उहाँहरुले मलाई दिनु भएको आर्शिवाद सम्भिएर म आफ्नो बाटोमा निरन्तर हिडिरहेकी छु।
.JPG)
उनी हाल हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय बानेश्वरमा कार्यरत छिन्।
‘आँट र साहस भएपछि जसले पनि जस्तो सुकै काम गर्न सकिन्छ। आफू लक्ष्यमा पुग्नका लागि निरन्तर मेहनत र लगाबको खाँचो पर्दछ।’ मुना हरेक महिलाहरुको प्रेरणाको स्रोत बन्न सक्छिन्।
‘खाडीमा पसिना बगाउन महिलाहरु गइराख्नु भएको छ, आउनुस् न देशमै पसिना बगाऔं,’ मुनाको आग्रह छ। ‘म डोजर चलाएर पसिना बगाउँछु, पसिनाले दुख बगाएर खुसीको मुहान् रसाउँछ,’ उनी थप्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।