काठमाडौं- पछिल्लो समय बिमा कम्पनीबीच निकै प्रतिस्पर्धा बढ्दै गएको छ। बजार बिस्तारमा होडबाजीझैं देखिन्छ। नेपाली बजारमा विदेशी बिमा कम्पनीहरुको उपस्थिति पनि उत्तिकै छ। तर, एनएलजी इन्स्योरेन्सका क्षेत्रीय सहायक प्रबन्धक प्रवेशमान शाक्य यस्तो अवस्थामा कुनै असहज नभएको बताउँछन्।
'एक-अर्काबीच प्रतिस्पर्धा छ नै, तर नेपालको बिमा बजारमा यसले कुनै असर परेको छैन। अहिले मात्र होइन पहिलेदेखि नै नेपालमा बिमाको बजार राम्रो रहँदै आएको छ,' नेपाल लाइभको कार्यक्रम 'समय संवाद'का लागि कुरा गर्दै उनले भने, '२०४६ सालमा मैले ८० लाख रुपैयाँको टार्गेट पूरा गरेको थिएँ। यसले के देखाउँछ भने नेपालको बिमा बजार सुरुदेखि नै बलियो छ।'
पछिल्लो समय नेपालमा संख्यात्मक रुपमा बढ्दै भइहेको बिमा कम्पनीहरुको उपस्थिति अनुसार सेवा विस्तार हुन नसकेकोमा भने शाक्यले चिन्ता व्यक्त गरे। 'बिमा क्षेत्र सेवा हो, यसलाई सबैले बुझ्न सक्नुपर्छ,' उनी भन्छन्, 'यहाँ बिमा शिक्षाको कमी छ। यसलाई फैलाउन सके मात्र पनि बिमा क्षेत्रमा विकास र विस्तारको नयाँ रुप देख्न सकिन्थ्यो, तर यो हुन सकिरहेको छैन।'
३२ वर्षदेखि बिमा क्षेत्रमा रहेर बिमा बजार हेरिरहेका शाक्यले २०४४ सालमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट आफ्नो करिअर सुरु गरेका हुन्। अहिले एनएलजी इन्स्योरेन्समै बजार प्रमुख तथा क्षेत्रीय सहायक प्रबन्धकका रुपमा कार्यरत छन् उनी। बिमा बजारको अवस्थाका बारेमा नेपाल लाइभका सुमन शर्माले शाक्यसँग गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।