काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरा फेरि पनि 'प्रधानमन्त्रीको लाचार छाया' बनेको आरोप लगाएको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै सो आरोप लगाएको हो। संसद्मा प्रधानमन्त्रीभन्दा अगावै बोल्न समय मागेको कांग्रेसलाई सभामुखले समय नदिएपछि संसद् अवरुद्ध गरेको थियो।
'प्रतिनिधिसभाका सभामुखबाट फेरी पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’ को भूमिका आज प्रस्तुत हुनु अत्यन्तै दुःखद त छ नै,' विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीबाट पत्रकार सम्मेलनमार्फत कतिपय विधेयक विरुद्ध सडकका आवाजलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक छ।'
प्रतिपक्षी स्वरलाई निषेध गर्ने प्रपञ्च गर्दा संसदमा द्वन्द्व भएको समेत कांग्रेसको ठहर छ। 'विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न त प्रधानमन्त्रीबाट प्रस्तुत भयो, न त ‘सरकार बहुमतको, संसद प्रतिपक्षको’ भन्ने मान्यता सभामुखबाट कार्यान्वयन हुन सक्यो। प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणामले मंगलबार संसद् अवरुद्ध हुन पुग्यो,' विज्ञप्तिमा उल्लेख छ।
पत्रकार सम्मेलन मार्फत् विधेयकहरु विरुद्धको आवाज र प्रदर्शनहरुलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’ संज्ञा दिनु घोर आपत्तिजनक भएको कांग्रेसको भनाइ छ।
गुठी, मिडिया काउन्सील, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयक सारमा अधिनायकवाद उन्मुख आकांक्षा पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएको समेत कांग्रेसको आरोप छ।
कम्युनिष्ट दर्शनको शास्त्रीय हठबाट होइन संविधानको लोकतान्त्रिक चेतबाट अगाडिको बाटो तय गर्न समेत कांग्रेसले सरकारलाई सजग गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।