सशस्त्र द्वन्द्वताका लुकमतिका घरमा माओवादी कार्यकर्ता दिनहुँजसो आइरहन्थे। द्वन्द्वको उत्तरार्द्ध भएकाले होला गाउँघरमा माओवादी कार्यकर्ता बाक्लै देखिन थाले। हतियार बोकेका उनीहरुका झोलामा बम पनि हुन्थे।
२०६२ चैत्रको घटना हो। लुकमति डाँगी एक दिन घर छेवैमा भाइसँग खेलिरहेकी थिइन्। त्यतिबेला उनको उमेर ४ वर्षको थियो। भाइ थियो २ वर्षको। छोरीको भरमा सानो छोरालाई छोडेर शेरबहादुर दम्पती मेलापात लागे। लुकमति भाइलाई खेलाउन व्यस्त थिइन्। खेल्दाखेल्दै उनले अनौठो चिज भेट्टाइन्। उनलाई लाग्यो त्यो कुनै नौलो चिज खेलौना हो। भाइलाई त्यतै छोडेर उनी भेटेको त्यो चिज लिएर खुसी हुँदै घर आइन्। लुकमति घर गएको देखेर उनको भाइ पनि पछिपछि गए। जब लुकमतिले घरभित्र पुगेर त्यो चिज खेलाउन थालिन्। एक्कासि निकै ठूलो आवाजमा उक्त वस्तु विस्फोट भयो। त्यसपछि के भयो लुकमतिलाई थाहा छैन।
OOO
इन्जिनियर बनाउने धोको थियो बुबाको। के पढ्दा के भइन्छ भन्ने चेतना विकास भएकै थिएन लुकमतिको। 'बुबासँगै गाउँबाट सदरमुकाम आएर ओभरसियर पढ्न थालेँ। प्रयोगात्मक अभ्यास बढी गर्नुपर्ने। कहिलेकाहीँ त एउटा हातले मात्रै काम गर्नुपर्दा धौ हुन्छ,' बाल कल्याण प्राविधिक शिक्षालय रोल्पामा सब इन्जिनियर पढ्दै गरेकी लुकमतिले सशस्त्र द्वन्द्वमा गुमाएको हात देखाउँदै भनिन्, 'अलिक कठिन काम साथीहरुको सहयोगमा गर्दै आएकी छु।
बम विस्फोटको त्यो घटनापछि रोल्पा नगरपालिका ९ कर्तमका शेरबहादुरले घाइते छोरी लुकमतिलाई हतारहतार जिल्ला सदरमुकाम लिबाङ ल्याए। जिल्ला अस्पतालले नेपालगन्ज रिफर गर्यो। नेपालगन्जले पनि बिरामीको संवेदनशीलता देखेर काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठायो।
अस्पतालले रेफर गर्दा छोरी बाँच्ने आशा मारिसकेका थिए शेरबहादुरले। तर पनि सास हुँदासम्म आस त गर्नैपर्यो। उनी छोरीलाई बोकेर नेपालगन्जबाट हवाई यात्रा मार्फत काठमाडौं गए। टिचिङ अस्पतालमा छोरीलाई भर्ना गरे। तीन महिनासम्म टिचिङ अस्पतालमै उनको उपचार गरियो।
गरिबीका कारण घर बनाउन सकेकाले शेरबहादुर अर्काको घरमा बस्दै आएका थिए। एउटा सानो झुप्रो बनाउने योजना थियो उनको। यस्तैमा छोरीमाथि यस्तो बज्र प्रहार भयो। दुहुनो भैंसी, कुखुरा, खसीबोका सबै बेचेर छोरीको उपचार गरे। उपचारमा ४ लाखभन्दा बढी खर्च भयो। गाउँलेहरुले चन्दा उठाएर संकलन गरेको १० हजार हस्तान्तरण गरेका थिए। सम्पत्तिको नाममा पाखो जग्गामात्रै थियो।
लुकमतिको दायाँ हात बमले उडाएको थियो। शरीरका अन्य अंगमा पनि चोट लागेको थियो। लामो उपचारपछि लागेको चोटपटक त निको भयो तर चुँडिएको हात जोडिने कुरै भएन। अपांग छोरी लिएर तीन महिनापछि घर फर्किए शेरवहादुर। आशा मारिसकेकी छोरी निको भएर घर फर्केको देखेर परिवारका सबै सदस्य खुसी भए। लुकमतिलाई हेर्ने गाउँलेहरुको भिड लाग्यो।
घाइते लुकमतिलाई सरकारले एक लाख राहत दिनेबाहेक अन्य कुनै क्षतिपूर्ति प्राप्त भएको छैन। घाइते अपांगलाई दिने राहत मध्ये ५० प्रतिशत राहत पाएकी थिइन् उनले। विद्यालय अध्ययन गर्दा वार्षिक १५ हजार छात्रवृत्ति पाउँथिन। अहिले रोल्पा नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्ति सहयोगमा उनको इन्जिनियरिङ पढाइ चलिरहेको छ।
उनलाई माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वबारे केही पनि जानकारी छैन। घरमा बुवाआमाले कुरा गरेको सुनेर माओवादी युद्धबारे थाहा पाएकी हुन्।
'घटना हुँदा म ४ वर्षकी थिएँ। त्यसको केही समयपछि शान्ति प्रक्रिया सुरु भएको रहेछ। त्यस कारण माओवादी युद्धबारे म जानकार हुन पाइनँ,' लुकमतिले सम्झिइन्, 'भाइँसँग खेलिरहेको बैला एक्कासि बम पड्किएको घटनासम्म थाहा पाउँछु।'
साथीहरुसँग लुकमति
आफ्नो उपचारमा भएको सबै सम्पत्ति सिध्दिएको उनले पछि मात्रै थाहा पाइन्। अहिले उनीहरुसँग फुसको छानो भएको एकतले घर छ।
सशस्त्र युद्धमा आफू जस्तै शरीरका अंग गुमाएका घाइते तथा अपांगहरुलाई राज्यले उच्च शिक्षासम्म नि:शुल्क पढाउनुपर्ने उनको माग छ। 'पढाइपछिको रोजगारीमा पनि घाइते/अपांगहरुलाई प्राथमिकता दिनुपर्छ,' उनी भन्छिन्।
लुकमतिहरुको कष्ट
लुकमति जस्ता शसस्त्र द्वन्द्वमा अंगभंग हुने रोल्पालीको संख्या ठूलो छ। स्थानीय शान्ति समितिको अभिलेख अनुसार ५ सय ९५ जना घाइते अपांगले राहत लिइरहेका छन। तीमध्ये ७७ जनाले मासिक रुपमा जीवन निर्वाह भत्ता लिने गरेका छन्।
विशिष्ट श्रेणी र प्रथम श्रेणीको त्यस्ता अपांगलाई राज्यले मासिक रुपमा निर्वाह भत्ता उपलब्ध गराउँछ। यसका साथै थप ५९५ जना घाइते अपांगहरुले न्यूनतम १० प्रतिशतदेखि अधिकतम शतप्रतिशतसम्म राहत लिएको स्थानीय शान्ति समिति रोल्पाका पूर्वसंयोजक खिमबहादुर कवरले जानकारी दिए। 'न्यूनतम राहत लिनेले २० हजार र अधिकतम राहात लिनेले २ लाखसम्म रकम बुझेका छन्,' संयोजक कवरले भने।
सशस्त्र द्वन्द्वमा लुकमतिहरुले सग्लो शरीर त गुमाए। उनीहरुको जीवन पनि सहज छैन। द्वन्द्वमा सहभागी भएर अंगभंग भएका मात्र नभई लुकमति जस्ता द्वन्द्वमा सहभागी नभएर पनि घाइते हुनेहरुको संख्या रोल्पामा पनि निकै ठूलो छ। उनीहरुको शिक्षादीक्षा र जीवनयापनमा समेत राज्यबाट सहयोग हुनुपर्ने सरोकारवालाहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।