काठमाडौं- पछिल्लो समय ‘स्मार्ट सिटी’का बारेमा जताततै सुन्न र पढ्न पाईन्छ। हरेक स्थानीय तह, प्रदेश तथा केन्द्रका सरकार र जनप्रतिनिधिले कुनै क्षेत्रको विकास गर्नुलाई सिधै स्मार्ट सिटीको अवधारणा भनेर भाषण दिन थालेका छन्।
विकसित मुलुकले सूचना प्रविधिको अधिकतम प्रयोगबाट हरेक सहरलाई व्यवस्थित गर्दै गएका छन् भने नेपाल जस्ता अल्पविकसित र विकासशील मुलुकले पनि त्यसको सिको गरेको अवस्था छ।
स्मार्ट सिटीको अवधारणासँगै दैनिक जीवनयापनमा पनि कम्युटिङ सोलुसन प्रणालीबाट कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा काठमाडौंमा इन्टरनेट अफ थिङ्स (आईओटी) प्रदर्शनी आयोजना गरिएको छ।
सूचना प्रविधि तथा ई–कमर्सका विषय अध्यापन गराउँदै आएको सफ्ट्वेरिका कलेजले तीन दिने प्रदर्शनी आयोजना गरेको हो।
उक्त प्रदर्शनीमा स्मार्ट सिटीका लागि चाहिने सम्पूर्ण पूर्वाधारलाई कसरी प्रविधिमैत्री र स्मार्ट बनाउन सकिन्छ भन्ने अवधारणा प्रस्तुत गरिएको थियो। स्नातक तेस्रो वर्षमा अध्ययनरत १ सय ९४ जना विद्यार्थीले करिब ८० वटा स्मार्ट सोलुसनका मोडल राखेका थिए।
विद्यार्थीलाई प्रयोगात्मक पढाईमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए। प्रविधिको प्रयोग र सूचनाको सही प्रयोगले जीवनयापन सहज बनाउन सकिन्छ भन्ने विद्यार्थीले सिकेको उनले दाबी गरे।
विद्यार्थीस्तरबाट आयोजना भएको यो प्रदर्शनी नेपालमा पहिलोपल्ट र सबभन्दा ठूलो रहेको कलेजको दाबी छ। प्रदर्शनी २ हजारले अवलोकन गरेका थिए। क्याम्पस प्रमुख पौडेलका अनुसार उपलब्ध स्रोतको उचित प्रयोगले मानव जीवन सहज बनाउन सकिने कुरा प्रदर्शनीमा देखाइएको छ।
'यो प्रोटोटाइप प्रयोग गरेर बजारमा दैनिक प्रयोगमा आउने वस्तुहरु निर्माण गर्न सकिने छ,' प्रमुख पौडेलले भने, 'हाम्रा विद्यार्थीले उपयोग गरेको प्रक्रिया अवलम्बन गरेर राष्ट्रियस्तरमा स्मार्ट सिटीको अवधारणा बुझाउन सम्भव देखिएको छ।'
कलेज अध्यापक मनोज श्रेष्ठले स्मार्टको अर्थ सूचनाको उचित प्रयोग र मानवजीवन सहज बनाउने रहेको बताए। उनले भने, 'यी प्रोटोटाइपले सूचना संकलन गर्छन्। र, त्यो सूचना प्रोसेसिङ गरेर कुनै दुर्घटनाबाट बच्न वा पूर्वतयारी गर्न सकिन्छ।'
उनका अनुसार नेपालमा आयोजित विभिन्न गोष्ठि, सम्मेलन र प्रदर्शनीमा सैद्धान्तिक कुरा गरिएपनि कम्युटिङका ती कुरा मेटेरलाइज गर्न सकिएको छैन। श्रेष्ठले थपे, 'अहिले प्रदर्शनी गरिएको प्रोटोटाइपहरु तत्कालै जनजीवनमा प्रयोग गर्न सकिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।