काठमाडौं– कर्मचारीहरुलाई तलब दिए पनि बिदा लगायत अन्य सेवासुविधा नदिएको भन्दै यतिबेला पाँचतारे होटल हायातका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले होटल हायातमा काम गर्ने कर्मचारीहरुले श्रम ऐन अनुसार बिदा तथा अन्य विभिन्न सेवासुविधा नपाएकाले आन्दोलनमा उत्रिएको बताए। ‘होटलमा श्रम ऐन अनुसारका सेवासुविधा नपाएपछि हामी आन्दोलनमा उत्रिएका छौं, आज बिहान ९ बजेदेखि ५ बजेसम्म हामीले सम्पूर्ण काम बन्द गरेका छौं,’ उनले भने।
नेपालमा नेपाली श्रमिकहरुलाई नै कामको अभाव भइरहेको अवस्थामा विदेशी कामदारलाई ल्याएर नेपाली कामदारलाई प्रतिस्थापन गर्ने, विदेशी कामदारद्वारा नेपाली कामदार हेपिने लगायत समस्या होटल हायातमा रहेको अध्यक्ष दाहालले बताए।
होटलले कर्मचारीहरुको मागको सुनुवाइ नगरे आफूहरु कडा आन्दोलनमा जाने चेतावनी कर्मचारीहरुले दिएका छन्।
यसअघि नै होटल हायातले श्रम ऐन वा ट्रेड युनियनसँगको सम्झौता अनुसार कामदारलाई सेवा सुविधा उपलब्ध गराउन आनाकानी गरेको भन्दै श्रम कार्यालय टेकुमा २०७४ को सुरुमै आधिकारीक ट्रेड युनियनले उजुरी दिएको थियो।
होटल हायातमा काम गर्ने कामदार र होटलबीच २०७२ सालमा आधिकारिक ट्रेड युनियनले रोजगारदाता (होटल हायात, श्रमिक र ट्रेड युनियन) बीच त्रिपक्षीय सम्झौता (सिबिए) गराएको थियो।
सो सम्झौतामा महिला कामदारका लागि सुत्केरी बिदा ९० दिन, बिरामी बिदा ४५ दिन लगायत एउटै पद वा तहमा काम गर्ने सबै कर्मचारीले एकै किसिमको तलब पाउनुपर्ने उल्लेख थियो। तर होटल हायातमा कामदारहरुले सो सम्झौता अनुसारको सेवा सुविधा र तलब पाएका थिएनन्।
होटलले कामदारहरुलाई सुत्केरी बिदा ७८ दिन, बिरामी बिदा ३० दिन मात्रै उपलब्ध गराउँदै आएको तथा एउटै तहमा काम गर्ने कामदारहरुले फरकफरक पारिश्रमिक र तलब दिने गरेको भेटिएको थियो। सोही विषयलाई आधार बनाई आधिकारिक ट्रेड युनियनले श्रम कार्यालय टेकुमा सबै श्रमिकहरुलाई उचित पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन माग गर्दै उजुरी दिएको थियो।
श्रम कार्यालयमार्फत सो विवाद समाधान हुन नसकेपछि श्रमिक र होटलको विवाद समाधान गर्नुपर्ने भन्दै ०७४ कात्तिक १९ गते श्रम अदालतमा होटलविरुद्ध मुद्दा नै परेको थियो ।
श्रम अदालतले २०७५ मंसिर ९ गतेको फैसलामा होटलले कामदारहरुलाई तत्काल उचित पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने सुनाएको थियो। फैसलापछि सो विवाद फेरि अदालतसम्म भने नआएको अदालतका रजिष्टार जीवनकुमार भण्डारी बताउँछन्।
तर अदालतले सुनाएको फैसलापछि पनि ग्रेड वृद्धि लगायत विभिन्न सम्झौता कार्यान्वयन नभएको भन्दै श्रम कार्यालय टेकुमा उजुरी परेको छ। जसमा श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुलाई विभिन्न सेवासुविधा उपलब्ध गराउन होटलले आनाकानी गरिरहेको आधिकारिक ट्रेड युनियनले ठहर गरेको छ।
सोही सम्बन्धमा २०७६ बैसाख ९ गते निवेदक पक्ष र व्यवस्थापक पक्षलाई श्रम कार्यालयले छलफल गराएको थियो। कार्यालयलाई लिखित रुपमा सहमति भएको पत्र पेस गर्नुपर्ने भन्दै श्रम कार्यालयले बैसाख २३ गते छलफलमा उपस्थितिका लागि पत्राचार गरेको थियो तर व्यवस्थापन पक्ष उपस्थित भएन।
अदालतको फैसलापछि पनि व्यवस्थापन पक्षले श्रमिकका मागहरु सम्बोधन गर्न आनाकानी गरेकाले कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँछन्, अध्यक्ष मुक्ति दाहाल।
त्यस्तै होटल हायातकै अर्को उजुरी पनि ०७५ माघमा श्रम कार्यालयमा परेको छ।
स्विकृत बस्नेत, नवीन नापित, नरेश विष्ट लगायत केही करारमा काम गर्दै आएका कामदारले होटलमा एक वर्षको करार अवधि समाप्त भएपछि सञ्चय कोष तथा उपदानबापत पाउनुपर्ने रकम होटलले नदिएको भन्दै उजुरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।