काठमाडौं– युवा स्पिनर सन्दीप लामिछाने यतिबेला एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा भाग लिन मलेसिया पुगिसकेका छन्। उनलाई प्रतियोगिताभन्दा अगाडि युथ टोलीको कप्तानबाट बर्खास्त गरिएको थियो। उनी टिमको नियमित खेलाडीको रुपमा सोमबारदेखि नेपालले खेल्ने खेलमा सहभागी हुनेछन्।
प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाल लाइभले उनीसँग छोटो तर विशेष अन्तर्वार्ता लिएको थियो। जसमा सन्दीपले कप्तानबाट हटाउनुलाई खेलको एउटा पाटोको रुपमा आफूले ग्रहण गरेको बताएका छन्। उनले आफू कप्तानीभन्दा पनि खेलमा केन्द्रित रहेको स्पष्ट पारे। सन्दीप भन्छन्, ‘कप्तानीको कुरा मैले ‘पार्ट अफ गेम’ को रुपमा लिएको छु। म मात्र होइन, सबैले सहज रुपमा लिनुपर्छ।’
उनले यू–१९ टोलीका नयाँ कप्तान दीपेन्द्रसिंह ऐरीले राम्रो कप्तानी गर्ने विश्वास पनि व्यक्त गरे। ‘दीपेन्द्रमाथि मेरो पूर्ण समर्थन र विश्वास छ, उनले कप्तानी गर्नुको साथै टोलीका लागि राम्रो योगदान गर्ने क्षमता राख्छन,’ सन्दीपले भने।
नेपालले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका सन्दीप भन्छन्, ‘हामी राम्रो तयारीका साथ आएका छौं। आशा छ, पुरानो गल्तिबाट सिकेर मलेसियामा राम्रो प्रदर्शन गर्नेछौं।’
दुई महिनअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्व कप छनोटमा सन्दीपको कप्तानीमा नेपालले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन। त्यतिबेला नेपाल विश्व कपका लागि छनोट हुन सकेन।
मलेसियामा सजिलो प्रतिद्वन्द्वी भएकाले नेपालको जित सहज हुने दावी छ, सन्दीपको। ‘पहिलाभन्दा अहिले सजिला प्रतिद्वन्द्वी छन्, समूहमा रहेको सिंगापुर पनि हाम्रो लागि कठिन टोली होइन’ सन्दीपले भने, ‘आफ्नो नैसर्गिक खेल खेलेर फर्किनेछौं।’
विश्व कप छनोटमा सन्दीपको कप्तानीमा उत्रिएको नेपाल खराब ब्याटिङको सिकार भएको थियो। यसपालि ब्याटिङ सुधारका लागि नेपालले भारतीय प्रशिक्षक मोन्टी देसाईलाई एक साताका लागि बोलाएको थियो।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्ने छ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। नेपालले पहिलो खेल सोमबार थाइल्यान्डविरुद्ध खेल्दैछ। नेपालको बुधबार भुटानसँग र विहिबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउने छन्।
यू–१९ नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, सहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन
वैकल्पिक खेलाडी– कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रकास केसी, रिजन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।