बार्सिलोना– बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले आइतबार विहान क्लबका लागि ३८ औं ह्याट्रिक पुरा गरे। मेसीले इस्पान्योलविरुद्ध खेलको २६, ३५ र ६७ मिनेटमा गोल गरेका थिए।
खेल जीवनमा मेसीको यो ४२ औं ह्याट्रिक थियो। मेसीले अर्जेन्टिनाबाट खेल्दा चार पटक ह्याट्रिक गरेका छन्। उनले पछिल्लो पटक पानामाविरुद्ध ह्याट्रिक गरेका थिए। मेसीले ला लिगामा २७ र च्याम्पियन्स लिगमा ७ ह्याट्रिक गरेका छन्। यस्तै ‘कोपा डेल रे’ मा ३ र स्पेनिस सुपर कपमा एक ह्याट्रिक पुरा गरेका छन्।
वर्तमान पुस्ताका अर्का उत्कृष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल जीवनमा ४८ ह्याट्रिक गरेका छन्। रोनाल्डोले पोर्चुगलका लागि पाँच ह्याट्रिक गरेका छन्। उनको पछिल्लो ह्याट्रिक फरोइ आइल्यान्डविरुद्ध थियो। विश्व कप छनोटमा उनले ३, २९ र ६५ मिनेटमा गोल गरेका थिए।
रोनाल्डोले क्लब करिअरमा ४३ ह्याट्रिक गरेका छन्। जसमा उनले रियल म्याड्रिडका लागि ४२ र म्यानचेस्टर युनाइटेडका लागि एक ह्याट्रिक गरेका छन्।
रोनाल्डोले ला लिगामा ३२ ह्याट्रिक गरेका छन्। सिजनको सुरुवाती खेलमा प्रतिबन्धमा परेका रोनाल्डोले अघिल्लो ला लिगाको सिजन चार ह्याट्रिक गरेका थिए।
रोनाल्डोले च्याम्पियन्स लिगमा ७ ह्याट्रिक पुरा गरेका छन् । गत सिजनको च्याम्पियन्स लिगमा रोनाल्डोले दुई ह्याट्रिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।