ह्युस्टन- ‘ज्याक्सन फाइभ’ अर्थात् ज्याक्सन दाजुभाइहरूकी बहिनी अझ भनौं पप सुपरस्टार माइकल ज्याक्सनकी बहिनी जेनेट ज्याक्सन लामो समयपछि गीतसंगीतको मैदानमा फर्केकी छन्।
सामुद्रिक आँधी हार्भेले पनि उनको म्युजिकल टुर रोक्न सकेन। ५१ वर्ष पुगेकी उनले बिहीबार आफ्नो सांगीतिक भ्रमण लुजियानाको लाफायतस्थित केजनडोम एरिनाबाट सुरु गरिन्।
बेलुकी ८ बजे सुरु हुने कन्सर्टका लागि उनको तस्बिरअंकित टिसर्ट, क्यानभास सुज लगायत विभिन्न पहिरनमा सजिएका दर्शक २ घन्टा अघिदेखि नै लामबद्ध भएका थिए।
शनिबार उनले टेक्सासको ह्युस्टनमा आफ्नो जलवा देखाइन्। उनले कन्सर्टबाहेक आफूले अरु धेरै कुराको योजना बनाएको बताए पनि विवरण भने दिइनन्। हार्भेपीडित सर्वसाधारणको राहतका लागि धेरै अमेरिकी कलाकार अग्रसर भएका बेला सम्भवतः उनी पनि राहतमा जुट्ने अनुमान गरिएको छ।
हार्भेपीडितको सहयोगार्थ मंगलबार लस एन्जलस, न्युयोर्क र न्यासभिलेमा हुने ‘ह्यान्ड इन ह्यान्ड : अ बेनिफिट फर हरिकेन हार्भे रिलिफ’ कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।