बार्सिलोना– स्पेनिस ला लिगा अन्तर्गत अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले स्पान्योललाई ५–० गोलले पराजित गरेको छ।
लिगमा शत प्रतिशत नतिजा निकालेको बार्सिलोना ३ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ७ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड ५ अंक जोडेर छैटौं स्थानमा छ।
खेलको २६ मिनेटमा इभान राकिटिकले उपलब्ध गराएको पासमा मेसीले उत्कृष्ट गोल गरे । ३५ मिनेटमा जोर्डी अल्बाले मिलाएको ब्याक पासमा मेसीले डिबक्सबाट फेरि अर्को गोल थपेका थिए । ६७ मिनेटमा मेसीले अल्बाकै पासमा ह्याट्रिक पूरा गरे । बार्सिलोनाका लागि मेसीको यो ३८औं ह्याट्रिक गोल हो।
जेरार्ड पिकेले खेल सकिन तीन मिनेट बाँकी हुँदा हेडमार्फत चौथो गोल गरे । अन्तिम मिनेटमा लुइस सुआरेजले अर्काे गोल थपेपछि बार्सिलोनाले ५–० गोलको सानदार जित निकाल्यो । सुआरेजले डेब्यु खेलाडी ओस्मान डेम्बेलेको पासमा गोल गरेका थिए । डेम्बेले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
विश्वको दोस्रो महँगा खेलाडी बन्ने क्रममा डेम्बेले गत साता जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १३५ दशमलव ५ मिलियन पाउन्डमा बार्सिलोना प्रवेश गरेका थिए।
लिगका अन्य खेलमा भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेलेका छन् भने सेभिल्लाले एइबारलाई ३–० गोलले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।