मैँले जे सोचेर, जे बुझेर कम्युनिस्ट पार्टीमा लागेको थिएँ। कम्युनिस्ट पार्टीमा लागेर अघि बढ्ने सन्दर्भमा अध्ययन र अनुभवहरु गर्दै जाँदा कम्युनिस्ट आन्दोलन पनि सामेल भएँ। तर, जनता र राष्ट्रले के पाए? फाइदाभन्दा बेफाइदा बढी भएको मैले पाएँ। लड्ने र लड्न लगाउने कुरा भन्दा राजनीतिक मुद्दालाई टेबलबाट अघि बढाउदा जनता र राष्ट्रलाई फाइदा हुन्छ भन्ने लाग्यो।
मैले वार्ताको पहल गरेको थिएँ। सरकार र आफ्नो पार्टीमा पनि त्यसै अनुरुपको वार्ताको लागि कुरा गरेको थिएँ। निषेध र प्रतिरोधको राजनीतिले देश र जनतालाई फाइदा नहुने भएकाले वार्ताको माध्यमबाट समाधान निकालौं भन्ने भनाई थियो। वार्ताको कुरा गरेकै कारण एक्कासी मलाई पार्टी नीतिविपरीत काम गरेको वा वक्तव्य दिएको भन्दै पार्टीबाट निकालियो। राष्ट्र र जनताको हितको लागि बनाइएको पार्टीले निलम्बन गर्दा मलाई ठीक लागेन। लडाईं र युद्ध गरिएका भएपनि जनताले हालसम्म केही पाएका छैनन्। नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को गतिविधि ठीक छैन भन्ने लाग्यो।
अर्को कुरा, हामीले संसदीय राजनीतिमा प्रचण्डलाई गाली गर्दै आएपनि उहाँसँगको भेटमा आकांक्षा र सपना निकै ठुलो देखें। कम्युनिस्ट आन्दोलनलाई माथि उठाउन उहाँलाई साथ दिनुपर्छ भन्ने लाग्यो।
नीतिगत रुपमा भन्नुपर्दा युद्ध लडेर सत्ता प्राप्त हुन्छ भन्ने पक्षमा म छैन। वैज्ञानिक समाजवादमा जाने विप्लव नेकपाका लागि साध्यको प्रयोग अलि मिलेन भन्ने मलाई लाग्यो। वार्ताको लागि पहल गर्दा मलाई निकालियो। उहाँहरु किन वार्ताविरोधी भएको मैले बुझ्न सकेको छैन। पार्टीको आठौं महाधिवेशनले वार्ताको कुरै नगर्ने, भूमिगत हुने भनी कहीँ पनि भनेको थिएन। किन भूमिगत हुने अवस्था आयो। म नै अचम्मित परेको थिएँ। आठौं महाधिवेशनको दस्तावेजअनुसार त मैले पो उठान गरिरहेको थिएँ। त्यो मेरो दाबी हो। उताको डर त्रासले बच्न यस पार्टी (सत्तारुढ नेकपा)मा आएको होइन।
आठौं महाधिवेशनको स्पिरिटका विरुद्धमा उहाँहरु(विप्लव) लागिरहनु भएको छ। कम्युनिस्ट पार्टीमा पार्टी नीतिभन्दा बाहिर गएकालाई कारबाही गर्नुपर्छ, म मान्छु। तर, वार्ताको कुरै नगर्ने, पार्टी भूमिगत हुने भनी कहीँ पनि भनिएको छैन। वार्ता भनेको साधन मात्रै हो, साध्य होइन। वार्ताको माध्यमबाट टेबुलमा आफ्ना माग तथा एजेन्डा राख्न सकिन्थ्यो। आम मानिस पनि वार्ताकै पक्षमा छन्। आम सर्वसाधारण, मध्यम वर्ग र बुद्धिजीवीको चाहना अनुसार वार्ता गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। मिडियाबाट निलम्बन गरेको खबर पाएँ। एकपटक स्पष्टीकरण लिने काम पनि भएन।
सरकारले मलाई गिरफ्तार गरी पार्टीको विरुद्धमा परिचालन गर्यो भन्नेमा कुनै सत्यता छैन। बन्द कोठामा राख्यो भन्नु हल्ला मात्रै हो। आफूलाई खुसी लागे मात्रै पार्टीमा बस्ने हो। पार्टीको कार्यदिशा अनुसार कमरेडहरु चल्नुभएन।
मध्यमवर्गलाई साथ लिई पार्टीको कार्यदिशा अघि बढाउने भन्ने थियो। भूमिगत नहुने, वार्ता नगर्ने, सहर नछोड्ने, भूमिगत नहुने भन्ने नीति थिएन।
.jpg)
वैज्ञानिक समाजवाद ल्याएपनि व्यक्ति असन्तुष्ट त हुन्छन् नै। असन्तुष्ट बढे त्यहाँ पनि विद्रोह हुन्छ। विप्लवमा स्टालिन प्रवृत्ति छ भन्न त म सक्दिनँ। उद्देश्यअनुसार काम नभएको चाँहि पक्कै हो। विप्लव सच्चिनुपर्छ भन्ने कुरा हिजो पनि भन्दै आएको हुँ। मैले लामो समय विप्लवलाई भेट्न खोजें। उहाँहरुले भेट्नै दिनुभएन। आज पनि भन्छु। प्रचण्डको हत्या गर्ने पार्टीको तयारी थियो भन्ने मलाई लाग्दैन। बैठकमा त्यस्तो तयारी हो भनि पार्टी छोड्छु त मैले भनेको थिएँ।
विप्लव नेकपाको कार्यदिशा बेठीक छ भन्ने मेरो भनाई होइन। वैज्ञानिक समाजवादका लागि मध्यमवर्गको घेरो फराकिलो भएकाले उनीहरुको साथ, सहयोग र समर्थनमा राजधानी नछोडी एकीकृत जनक्रान्ति गर्ने कार्यदिशा थियो। कार्यदिशा त ठीक थियो। तर, नेताले कार्यदिशालाई आत्मसाथ गर्नु सक्नुभएन।
मलाई लगाइएको आर्थिक चलखेलको आरोपमा कुनै सत्यता छैन। मन नपरेपछि के के भनिन्छ, त्यसमा बहस गर्नुपर्ने कारण छैन। पदम राईले आर्थिक चलखेल गर्छ कि गर्दैन दुनियाँलाई थाहा छ। मैले भ्रष्टचार गरेको भनेको सुने मानिसहरु अचम्ममा पर्छन्। आर्थिक अनियमितता गर्ने मान्छे म होइन।
निलम्बित भएकै कारण म नेकपामा प्रवेश गरेको भने होइन। रिस फेर्न म सत्तारुढ दलमा आएको हुँदै होइन। राजनीतिक रूपमा सक्रिय कार्यकर्ता खाली बस्ने कुरा पनि भएन। प्रचण्ड र रामबहादुर थापालाई भेटें। उहाँहरुले देख्नुभएको सपनामा मैले किन साथ नदिने भन्ने लाग्यो। प्रचण्डमा अथाह सपना देखें। त्यो सपनाका लागि मैले पनि एउटा ईंटा बोक्नुपर्छ भन्ने लाग्यो।
दुइ शक्तिको टकरावले जनता र राष्ट्रका लागि कुनै लाभ हुन्न। विप्लवको कार्यदिशा ठीक भएपनि शैलीप्रति मेरो विमति थियो। शैली सच्चाउन मैले वार्ताको बाटोमा जाउँ भनेको थिएँ। भूमिगत हुने भनेपछि त नियत बुझ्न पर्यो नि!
राज्यले दमन गरेर विप्लव नेतृत्वको नेकपा सकिन्छ भन्ने चाँहि सोच्नुहुँदैन। सबै पक्ष एउटै टेबलमा बसौं। कम्युनिस्टका घटक सबैलाई एकै स्थानमा ल्याई कुरा गरौं। कहाँ कमी कमजोरी भयो? समीक्षा गरौं। १७ हजार मान्छे त मरेकै हुन् नि। नलडेको हो र? हिजो प्रचण्ड नहुँदा केही पनि नहुने, आज विप्लव नहुँदा केही पनि नहुने त होइन नि। स्वतन्त्रता चाहने मान्छे त जहिले पनि हुन्छन्। जबसम्म समाजमा समस्या रहन्छन्। नेपाली समाजमा क्रान्ति भएका कारण समस्या आएको त होइन नि। समाजमा समस्या भएर क्रान्ति भएको हो। सबै पक्षले यसलाई बुझ्नुपर्छ। दीर्घकालीन समस्या समाधानका लागि एजेन्डामा जानुपर्छ।
विप्लव नेतृत्वको नेकपामा पोलिट ब्युरो सदस्य हुँदा म निलम्बनमा परेको हुँ। नेकपामा आउँदा पद पाइन्छ भनेर म आएकै होइन। ३४ वर्षको कम्युनिस्ट राजनीतिको सपना पूरा गर्न नेकपा प्रवेश गरेको हुँ। मैले काम पाउँछु भनी आएको छु। उद्देश्यसँग सम्बन्ध छ, पार्टीसँग छैन। पदले चुनौती थप्छ, बेकारमा किन पदको आशा गर्नु। ठुलो डोको बोक्दा भरिएको भयो भने पो काम लाग्छ, रित्तो डोको बोकेर अर्थ छैन। जिम्मेवारीसहित कामको महत्व छ।
(विप्लव नेतृत्वको नेकपाबाट निलम्बनमा परेका राई आइतबार सत्तारुढ दलमा प्रवेश गरेका छन्। नेकपा प्रवेश गरेपछि राईसँग गरिएको वार्तामा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।